Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहका उत्कृष्ट कार्य : जहाँ सामान खरिदबिक्री गर्दा नोट चल्दैन

भोजपुर - अरुण गाउँपालिकाकी शान्तिदेवी राई अरुण नदी पार गरेर धनकुटाको चानुवाको हाटडाँडामा लाग्ने साप्ताहिक हाटमा आफूले उत्पादन गरेका सामान बेच्न होइन, साट्न पुग्छिन्। 

गत बुधबार मात्र उनी बारीमा आफ्नै बारीमा फलेका सरिफा, सुर्ती लिएर करिब आठ किलोमिटर टाढा धनकुटाको महालक्ष्मी नगरपालिका–४ मा लाग्ने सो हाटमा पुगिन्। तामा, गट्टो, कागती र नास्पातीसँग साटिन्। भोजपुरबाटै आएकी तिलमाया थापाले पनि आफूले ल्याएको सुर्ती, कागती, नास्पाती र केही तरकारीसँग साटिन्। हरेक साता बुधबार लाग्ने हाटमा उहाँ यसैगरी घर गाउँमा उत्पादन भएका वस्तु बोकेर पुग्छिन् र आवश्यक परेको तर गाउँघरमा नपाइने वस्तु साटासाट गरेर फर्किन्छिन्। 

महालक्ष्मी–४, नाम्फुगाउँकी बुद्धिमाया तामाङको घरमा कागती थियो तर नास्पाती र सुर्ती थिएन। उनी पनि आफूले लगेका कागतीसँग नास्पाती र सुर्ती साटेर फर्किइन्। 

 यो वस्तु विनिमय परम्परा धनकुटाको महालक्ष्मी नगरपालिका–४, चानुवाको हाटडाँडामा लाग्ने साप्ताहिक बुधबारे हाटमा अहिले पनि प्रचलनमा छ। अन्यत्रको हाटभन्दा यहाँको हाट धेरै नै फरक छ। अन्यत्र पैसाले वस्तु तथा सेवाको किनबेच हुन्छ तर यहाँ भने अहिले पनि वस्तुसँग वस्तु नै साटिन्छ। हाट भर्न आउने अधिकांशले पैसा प्रयोग नै नगरी एकअर्काबिच आफूलाई आवश्यक पर्ने साटासाट गरेर लाने गरेका छन्। 

अहिलेको आधुनिकतासँगै यो प्रायः लोप भइसकेको छ। घरबाटै बाहिर ननिस्किई अनलाइनमा समेत वस्तु खरिदबिक्री गर्ने चलन आइसकेको छ। शहरी क्षेत्रमा अधिकांश कारोबार नोटबिनै अर्थात् डिजिटल प्रविधिबाट हुन थालेको छ तर धनकुटाको ग्रामीण क्षेत्रमा लाग्ने हाटले भने अहिले पनि मौलिक परम्परा जोगाइरहेको छ । 

स्थानीय बजार भए पनि बिचमा बग्ने अरुण नदीले कित्ताकाट गरेका भोजपुर र धनकुटा जिल्लाका केही स्थानको यो भरपर्दो बजार हो। त्यसैले भोजपुरको जरायोटारबाट लामपाते सुर्ती, सरिफा, होम्ताङबाट बदाम लिएर हाट भर्न आउने स्थानीय बासिन्दा महालक्ष्मी नगरपालिकाको डाँडागाउँ, चानुवा, मारेक कटहरेका माथिल्लो भेगका बासिन्दासँग सब्जी साट्छन् तर यो बजार भोजपुर र धनकुटाका उपभोक्तामा मात्र सीमित छैन। सङ्खुवासभा र तेह्रथुमका स्थानीय हाट भर्न यहाँ आउने गरेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update