Odapalika - The Fourth Estate - चौथो अंग
रौतहटमा कुकुर आतंक : साढे चार महिनामा ७२६ जना घाइते

रौतहट : रौतहटमा पछिल्लो समय कुकुरको टोकाइबाट घाइते हुनेको संख्या बढेको छ। चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगर क्षेत्रमा कुकुरको  आक्रमण बढेको हो।

चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालका तथ्यांकअनुसार गत वैशाखयता मात्रै ७२६ जना कुकुरको टोकाइबाट घाइते भएका छन्। अस्पताल प्रमुख डा. अभिनन्दन कुमार श्रीवास्तवका अनुसार वैशाखमा १४३, जेठमा १२२, असारमा १६६, साउनमा १६० र भदौको १५ गतेसम्म १३५ जना घाइते भएर अस्पताल आएका छन्। घाइते सबै उमेर समूहका छन्। उनीहरूलाई रेबिजविरुद्धको खोप लगाइएको उनले बताए।

चन्द्रनिगाहपुर- ४ का रामबाबु महतोले मन्दिरतर्फ जाँदै गर्दा कुकुरले आक्रमण गरी दुई पटक टोकेको अनुभव सुनाए। चन्द्रनिगाहपुर-५ की सीतादेवी दासले  बच्चा लिएर बाहिर निस्कनै कठिन भएको बताउँदै तत्काल नियन्त्रणको माग गरिन्। स्थानीय समाजसेवी बसन्त आचार्यले पालिकाहरूले तत्काल टोली बनाएर नियन्त्रणका उपाय शुरु गर्नुपर्ने बताए।

यतिबेला सहरदेखि गाउँसम्म छाडा कुकुरको संख्या ह्वात्तै बढेको छ। ​चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालका प्रमुख डाक्टर श्रीवास्तवका अनुसार गर्मी मौसम, प्रजनन अवधि र मनसुन सक्रिय हुने बेला कुकुर बढी आक्रामक बन्ने भएकाले यस्तो अवस्था देखिएको हो।

उनका अनुसार गर्मीमा कुकुरहरू चिडचिडा हुने प्रवृत्ति देखिन्छ भने प्रजनन अवधिमा स्वभाविक रूपमा आक्रामक बन्ने सम्भावना बढी हुन्छ। ‘मनसुन शुरु भएसँगै वर्षाका कारण कुकुरको स्थायी बासस्थान बिग्रने र भर्खर बच्चा जन्माएका कुकुर आमाले आफ्नो बच्चाको सुरक्षााका कारण पनि आक्रमण गर्ने सम्भावना धेरै हुन्छ, डा. श्रीवास्तवले भने ।

उनले अनावश्यक रूपमा बाहिर नहिँड्न, अपरिचित कुकुरबाट टाढा रहन र विशेष सावधानी अपनाउन आग्रह गरे। 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update