रौतहट- रौतहटको गौरमा दुई समूहबिचको झडपमा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्ने दुवै पक्षका छन्।
मुस्लिम समुदायको तर्फबाट झडपमा सहभागी जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेदसहित र हिन्दु पक्षका वडा अध्यक्ष बिहारी प्रसाद साह तेलीसहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। शेख जमशेद पूर्व वडाध्यक्ष पनि हुन्।
शुक्रबार दुवै समुदायबिच छलफल गराएर प्रशासनले सहमति गराए पनि शनिबार बिहानैदेखि झडप सुरु भएको थियो। झडप र आगजनी हुन थालेपछि प्रशासनले त्यस क्षेत्रमा कर्फ्यु लगाएको छ। कर्फ्यु लगाएपछि स्थिति प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताए।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार पनि कर्फ्यु जारी रहने बताएका छन्। यस्तै त्यहाँको सुरक्षा अवस्था बारे केन्द्रीय सुरक्षा समितिमा पनि गम्भीर छलफल भएको छ। त्यस क्षेत्रसहित समग्र मधेसको शान्ति सुरक्षाको अवस्था बुझ्न कार्य विभागका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीलाई खटाउने निर्णय भएको छ।
केन्द्रीय सुरक्षा समितिले त्यहाँ दुवै पक्षलाई सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गर्दै गैर कानुनी कार्य गर्नेलाई कानुनी दायरामा ल्याइने जानकारी गराएको छ।







