गोरखा । चेपाङ जातिहरुको महान चाड (छोनाम) न्वागी पर्वको अवसर पारेर गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
पालिकाले सार्वजनिक सूचना जारी गर्दै आइतबार पालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने जनाएको छ ।
पालिकाको यही भदौ ६ गते बसेको गाउँकार्यपालिको बैठकले न्वागी पर्वको अवसरमा बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । अल्पसंख्यक अति सीमान्तकृत चेपाङ समुदायले हरेक बर्षको भदौ २२ गते सामुहिक रुपमा छोनाम मनाउँदै आएका छन् ।
‘छोनाम’ चेपाङ समुदायको भाषिक शव्द हो । यसको अर्थ नेपाली भाषामा ‘न्वागी’ हो । न्वागी अर्थात नयाँ अन्नबाली भित्र्याएपछि उपभोग गर्नुअघि प्राकृतिक देउदेउता, पितृ र कुललाई चढाउने परम्परा छ ।







