काठमाडौँ । केही दिनयता सामाजिक संजाल टिकटकमा नेपो बेबी अभियान सुरु भएको छ । सुचीकरण नभएको नाममा सामाजिक संजालहरु फेसबुक, युटुव, एक्सलगायत सरकारले बन्द गरिदिएपछि नेपोबेबी अभियान झन उग्र रुप लियो ।
लामो समयदेखि सत्तामा बसेका नेताका छोराछोरीको जीवनशैली र उनीहरुको विलाशी जीवनयापनबारे उजागर गर्ने अभियानलाई नेपोबेबी अभियान भनियो ।
यो अभियानको नेतृत्व जेनजी पुस्ताले गर्यो । १२ वर्षदेखि २८ वर्षभन्दा कम उमेर समुहको पुस्तालाई जेनजी पुस्ता भनिन्छ । यो पुस्ता पूर्ण डिजिटल पुस्ता हो, यो पुस्ता मोबाइल र सोसल मिडियामा केन्द्रीत छ र ट्रेन्ड तत्काल समाउन सक्छ ।
जेनजी पुस्ताको सोसल मिडिया ट्रेन्ड र सरकारले सुचीकरण नभएका भन्दै नेपालमा लोकप्रिय रहेका फेसबुक, युटुव, एक्स जस्ता सामाजिक संजाल बन्द गर्ने निर्णय एकैपटक भयो । अर्थात सरकार सामाजिक संजाल बन्द गर्दै थियो, जेनजी पुस्ता नेपोबेबी अभियान सुरु गर्दैथियो ।
यो पुस्तालाई राजनीतिप्रति चासो थिएन, छैन । यसले मागेको जवाफ हो, खोजेको पारदर्शिता हो, लगानीको हिसाव हो र पछिल्लो समय यो पुस्ताले सत्तासँग मागेको अर्काे प्रमुख कुरा मेरो मुख नथुन । तर, सत्ताले जवाफ दिएन, पारदर्शी भएन, सुशासन दिएन, नागरिकको लगानीको हिसाव देखाएन र सामाजिक संजाल बन्द गरेर नागरिकको मुख थुन्यो । अनि उठ्यो आन्दोलनको आधीवेहेरी ।
यो सत्ताले नै तानेर जेनजी पुस्तालाई सडकमा ल्याएको हो । जेनजी पुस्ताको बाको पालका प्रधानमन्त्री पनि केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपाल, उसको पालामा पनि यिनै छन् प्रधानमन्त्री हुने पालो कुरेर बसेका । यति मात्रै होइन, जेनजीको भाइ पुस्ता अल्फा पुस्ताको प्रधानमन्त्री पनि मै हुन्छु भनेर राजनीतिक गठबन्धन गरेका छन्, नागरिकको अभिव्यक्ति स्वतन्त्रताको मुख थुन्न सामाजिक संजाल बन्द गरेका छन् ।
मेलम्ची खानेपानी परियोजना सुरु भएको ३५ वर्ष भयो । अझै पूरा भएको छैन । समयमै मेलम्ची बनाएको भए यो जेनजी पुस्ता सडकमा आउने थिएन । धुलिखेलबाट १५ मिनेटको ड्राइभिङ समयमा रत्नपार्क पुग्ने बाटो समयमै बनाएको भए यो पुस्ता अहिले सडकमा आउने थिएन । दमकमा भ्यू टावर बनाउनुको साटो हुम्लामा सिटामोल पुर्याएको भए जेनजी पुस्ता सडकमा आउने थिएन । मन्त्रीको गाडीले दिनदहाडै सडकमा बालिकालाई ठक्कर दिएर भाग्दा खुसुक्क छुदा के को होहल्ला भन्ने अभिव्यक्ति दिने गैरजिम्मेवार व्यक्तिलाई प्रधानमन्त्री नबनाएको भए जेनजी पुस्ता युटुव हेरेर नयाँ स्टार्टअप सुरु गथ्र्याे । सडकमा आउने थिएन ।
कति विस्तार भयो पूर्व–पश्चिम राजमार्ग ? कहिले बन्ने भनेका थियौ, कहिले बनाइसक्छौ मध्यपहाडी राजमार्ग ? पूर्व–पश्चिम रेलमार्ग कहिले हो बनिसक्ने ? तराई–मधेश फास्टट्रया कहिले बनिसक्छ ? ठूला र बर्षाैदेखि त्यसै अल्मलिएका विकास आयोजनाका ठेकेदार कि तिम्रा घरभेटी छन्, कि तिम्रा मन्त्री वा सांसद छन्, कि तिम्रा परममित्र छन् । यसैकारण जेनजी पुस्ता राजनीतिमा आउन वाध्य भयो ।
मत परिणाम सार्वजनिक भएपछि २/३ वटा पार्टीका ठूला नेता बस्छन्, अनि भन्छन्– तिमी १ वर्ष खाउ, म र यो २/२ वर्ष खान्छौं । राज्यसत्ता निश्चित व्यक्तिहरुको निजी कमाइ जस्तो भयो । राज्यसत्ता दुरुपयोग गरेर चुनाव जित्ने, सत्ताको लागि अनौठो गठबन्धन गर्ने, अनि यिनिहरु नै भन्छन्– जनताले भोट दिन्छन् त म प्रधानमन्त्री नभएर भयो !
जेनजी पुस्तालाई सडकमा आउन वाध्य पार्ने यिनै असफलहरु हुन् । संघ र प्रदेशमा मात्रै होइन, वडातहसम्म सबै पार्टी र त्यहाँका ठूला नेता मिलेर भ्रष्टाचार गर्छन, राज्यको स्रोत बाँडीचुडी खान्छन् । प्रहरी यिनिहरुकै मान्छे, न्यायाधीश यिनीहरुले नै नियुक्त गर्ने, अख्तियारमा यिनीहरुकै मान्छे, निर्वाचन आयोगमा यिनीहरु नै । यस्तो भएपछि कहाँ हुन्छ लोकतन्त्र, कहाँबाट पाइन्छ सुशासन, कहाँबाट आउछ जवाफदेहिता र पारदर्शिता । यसैकारण जेनजी पुस्ता सडमा आएको छ ।
राजस्व लिएको २ वर्षसम्म ड्राइभिङ लाइसेन्स दिन सक्दैन । परीक्षा दिएको २ वर्षसम्म रिजल्ट आउदैन । इम्बोस्ड नम्बर प्लेटको लागि राज्यको नाममा गैरकानुनी असुली गरिन्छ । भिजिट भिषामा नागरिक बेचिन्छ । देशमा रोजगारीको लागि केही हुन्न तर नागरिक बेच्नका लागि बैदेशिक रोजगार विभाग गठन गरिन्छ । जेनएक्स पुस्ता यी सबै वेथितीमा बानी परेछ । तर, जेनजी पुस्ता यो सब सहन तयार भएन, अनि सडकमा आयो ।
सत्तामा बस्नेहरु भन्छन्– हामीले गरेको किन देखेनौ ? यत्रो विकास भएको छ, देशविदेशसँग सम्पर्क जोडिएको छ । सत्तामा बस्नेले फैलाएको यो अफवाहमा सत्यता छैन । किनभने अहिले भएको विकास, बनेका पूर्वाधार, प्राप्त भएको उपलब्धी यिनीहरुको योजना, तयारी र प्रयासले भएको होइन । जसरी विहान घाम झल्कन र बेलुका अस्ताउन, असार साउनमा पानी पर्न, पुष माघमा जाडो हुन यिनीहरुको भूमिका छैन, त्यसैगरी अहिलेका विकास आयोजना सम्पन्न हुन यिनीहरुको भूमिका छैन । यो त स्वभाविक गतिमा र यिनीहरुको अनेकन प्रकारका अवरोध पार गर्दै सम्पन्न भएका हुन् । जेनएक्स पुस्ताले यो बेथिती सह्यो, जेनजी पुस्ताले सहेन, त्यसैले यो पुस्ता सडकमा आयो ।