Odapalika - The Fourth Estate - चौथो अंग
जेनजी सहिद दीपकको घर खोज्दै शिवनाथ गाउँपालिका पुग्यो प्रजिअको टोली

बैतडी । जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक साउदको परिवारको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोली उनको घरमा पुगेको छ । 

साउदको घरमा गएर पारिवारिक अवस्थाबारे जानकारी लिइएको प्रजिअ पौडेलले बताए ।

‘सहिद परिवारको अवस्थाबारे जानकारी लिन उहाँको घरमापुगेका हौंँ । दीपकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेका छौंँ । परिवारलाई राज्यका तर्फबाट भेटवार्ता र सरकारको भएको महसुस गराउन र सान्त्वना दिन हामी प्रयासरत छौँ,’ प्रजिअ पौडेलले भने ।

भेटवार्ताका क्रममा परिवारका कुनै सदस्यलाई रोजगारीको व्यवस्था गर्न सकिने विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले जानकारी दिए ।

‘सहिद परिवारका सदस्यलाई रोजगारसँग जोड्ने र थप सहयोग गर्न पहल गर्नेछौँ । चौधरी ग्रुपले रोजगारी दिने जानकारी दिएपछि प्रक्रिया अघि बढाइएको हो,’ उनले भने ।

प्रजिअ नेतृत्वको टोली भेट्न आएर पारिवारिक अवस्था बुझिदिँदा केही राहत महसुस भएको सहिद साउदकी आमा लक्ष्मी साउदले बताइन् ।

‘घरमै आएर हाम्रो अवस्था बुझ्नुभयो, सान्त्वना दिनुभयो र रोजगारी दिने विषयमा छलफल भएको छ,’ उनले भनिन् ।

दीपकको परिवारलाई यसअघि सरकारको तर्फबाट १५ लाख रुपैयाँ र शिवनाथ गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको थियो । बीस वर्षीय दीपकलाई जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौँको कालीमाटीमा गोली लागेको थियो । 

गोली लागेर गम्भीर घाइते उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा भदौ २७ गते मृत्यु भएको थियो । साउदले कक्षा १२ पास गरी कोरिया जानका लागि काठमाडौँमा भाषा सिकिरहेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update