Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीसँग आज टेलिफोन वार्ता गर्दै

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ । 

“बिहीबार प्रधानमन्त्रीज्यूले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गर्दै हुनुहुन्छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “फागुनमा हुने निर्वाचनको लागि आवश्यक सहायता र पुनर्निर्माणमा सहयोगलगायत विषयमा कुराकानी हुनेछ ।” 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सोही समयमा टेलिफोनवार्ता गर्ने सहमति बनेको थियो । 

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा राजदूत श्रीवास्तवले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई भारतका प्रधानमन्त्री मोदीले पठाएको बधाई सन्देश सुनाएका थिए । भेटमा उनले दुई छिमेकी देशहरूबीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्न सँगै काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेका थिए । 

भारतीय प्रधानमन्त्री मोदीले कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जालमार्फत र मणिपुरमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बधाई तथा शुभकामना दिएका थिए । 

मणिपुरको सभालाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले केही मिनेट नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा खर्चेका थिए । उनले मणिपुरबाट नेपालका साथीहरूसँग कुरा गर्ने बताएका थिए । 

“हिमालयको काखमा बसेको नेपाल भारतको एक साथी हो, घनिष्ठ मित्र हो । हामी साझा इतिहासद्वारा जोडिएका छौँ, आस्थाद्वारा जोडिएका छौँ र सँगै मिलेर अगाडि बढिरहेका छौँ,” मोदीले नेपाल–भारत सम्बन्धलाई प्रशंसा गरेका थिए ।  

मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेकोमा १४० करोड भारतवासीहरूको तर्फबाट सुशीला कार्कीलाई बधाई दिएका थिए ।  

“उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ । नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण हो,” मोदीले भने, “म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु, जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राख्यो ।”  

गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीले प्रस्ताव गरेका सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत उनलाई बधाई दिएका थिए । 

“नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना ! नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ,” मोदीले लेखेका थिए । 

भारतीय प्रधानमन्त्रीले लगातर दुई दिन नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएका थिए । 

भारतको विदेश मन्त्रालयले पनि शुक्रबार राति नै विज्ञप्ति जारी गर्दै कार्कीलाई बधाई दिएको थियो । विज्ञप्तिमा कार्कीको नेतृत्वले नेपालमा शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको थियो । 

“नजिकको छिमेकी, लोकतान्त्रिक साथी र दीर्घकालीन विकास साझेदारको रुपमा भारत हाम्रा दुई जनता र देशहरूको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहनेछ,” भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update