
इलाम । यही असोज १८ गते भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा ल्याउन सकिएको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ ।
सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् । सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् ।
सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उनले जानकारी दिए ।
“सडक खुलाउन हामी दिनरात लागिरहेका छौँ,” उनले भने, “तर, सिंगो डाँडा नै भासिएकाले समस्या भएको हो ।” पहिरो पन्छाउन सडक डिभिजनले तीन एस्काभेटरको प्रयोग गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सडक मर्मतकै क्रममा रहेको बताए । सुरक्षित रूपमा आवागमन गर्न सकिने गरी मर्मत नहुन्जेलसम्म सडक सञ्चालनमा रोक लगाइएको उनले उल्लेख गरे । “सडकखण्ड मर्मतकै क्रममा छ । सुरक्षित रूपमा आवागमन गर्न सकिने गरी मर्मत नहुन्जेलसम्म सडक सञ्चालनमा रोक लगाएका छौँ,” उनले भने ।
राजमार्गको राजदुवाली र इलाम–नेपालटारखण्डको मिलगोलाईमा ठूलो क्षति पुगेको छ । मिलगोलाईको अवरोध हटाइएको सडक डिभिजनले जनाएको छ । मिलगोलाईको अवरोध हटाइएपछि पाँचथर र ताप्लुजेङबाट राजदुवाली पहिरोमाथिसम्म सवारी सञ्चालनमा ल्याइएको छ ।
झापाबाट फिक्कल हुँदै माईखोलासम्म यातायात नियमित सञ्चालनमा छ । तर, राजदुवालीमा पहिरो खसेकाले सडक अझै अवरुद्ध रहँदा इलामसहित पाँचथर, ताप्लेजुङ र झापाका यात्रु प्रभावित भएका छन् ।
इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन राजदुवाली पहिरोमाथि र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन् । उक्त ठाउँदेखि पहिरोमाथिसम्म करिब डेढ किलोमिटर यात्रुलाई पैदल नै आवतजावत गर्नुपर्ने बाध्यता छ ।
बिरामी र ज्येष्ठ नागरिकलाई भने स्टेचरमा बोकेर माईखोलापारिबाट राजदुवालीमाथिसम्म र राजदुवालीमाथिबाट माईखोलापारिसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।
वैकल्पिक बाटोका रूपमा प्रयोग गरिँदै आएको मेची करिडोर (केचना–कञ्चनजंघा सडक)अन्तर्गत पुवाखोला र तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाईखोलाको बेलीब्रिज पनि बाढीले बगाएपछि इलामबाट झापा झर्ने कुनै मार्ग खुला छैन ।
बाढीपहिरोका कारण जिल्लाका अधिर्काश स्थानीय पालिका सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये पाँच हालसम्म सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् ।
राजदुवाली सडकखण्ड अवरुद्ध भएकाले सूर्योदय नगरपालिका, बेलासे सडकखण्डको पुल भाँचिएपछि माई नगरपालिका, देउमाई पुल भत्किएकाले माङसेबुङ गाउँपालिका, जोगमाई खोलाको बेलीब्रिज बगाएपछि माईजोगमाई गाउँपालिका, सडक क्षतविक्षत भएकाले फाकफोकथुम गाउँपालिका सदरमुकामसँगको सडक आवागमनबाट विच्छेद छन् ।
इलाममा हालैको बाढीपहिरोबाट सानाठूला गरी १९ पक्की पुल, दुई बेलीब्रिज, ११ कल्भर्ट र तीन झोलुंगे पुलमा क्षति पुगेको छ । ३१ सडकमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यहाँ बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ । २६ जना घाइते र एकजना बेपत्ता छन् ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ती घटनाबाट २७६ परिवार विस्थापित, १५१ पूर्ण र ३२७ घर आंशिक क्षतिग्रस्त भएको बताइन् ।