Odapalika - The Fourth Estate - चौथो अंग
मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने

इलाम । गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । 

जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।  

उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो । 

सडक अवरुद्ध भएपछि नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ । 

यसैबीच, वैकल्पिक मार्गको पहिचान गरी साना सवारी सञ्चालनको तयारी सुरु गरिएको प्रजिअ नेपालले बताइन् । 

तत्कालका लागि आइतबार तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कलको रुटमा साना सवारी सञ्चालनमा ल्याइएको भए पनि सोमबारदेखि तिल्केनी–सिमलगो सडक खण्ड हुँदै साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ नेपालले जानकारी दिइन् ।  

ठूला तथा मालवाहक सवारीका लागि भने हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालको भनाइ छ । तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल र तिल्केनी–सिमलगोलाई सडकमा तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारीका लागि कठिनाइ हुने अवस्था रहेको उनको भनाइ छ । 

सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको राजदुवाली सडकखण्ड पुनःनिर्माणको काम हालका लागि स्थगन गरेको छ । राजदुवालीमा भूसंरचनाका कारण समस्या भएको र तत्कालन वैकल्पिक मार्गमा नै श्रोतसाधन र जनशक्ति परिचालन गर्नुपर्ने भएकाले राजदुवाली सडकखण्ड पुनःनिर्माण स्थगन गरिएको सडक डिभिजनका सूचना अधिकारी इञ्जिनयर अर्जुन घिमिरेले बताए ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ०६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update