Odapalika - The Fourth Estate - चौथो अंग
दुई सातापछि मेची राजमार्ग सञ्चालनमा

इलाम । गएको असोज १८ गतेको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग सञ्चालनमा ल्याइएको छ ।

उक्त राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड मर्मतसम्भारपश्चात् शनिबार (कात्तिक १) राति ९ः०० बजेदेखि सवारी सञ्चालनका निम्ति खुला गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको लगातार दुई साताको प्रयासपछि सडक खुलाउन सफल भएको कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । उनका अनुसार, पहिरो पन्छाउन कार्यालयले ६ एक्स्काभेटर, एउटा जेसीबी, ६ टिपर र दुइटा लोडर परिचालन गरेको थियो ।

“निकै ठूलो पहिरो खस्नाका साथै दिनहुँ भासिने समस्याले हामीलाई पहिरो पन्छाउन समय लाग्नुका साथै सास्ती पनि भयो,” डिभिजन प्रमुख भट्टराईले भने, “निरन्तरको प्रयासले सडक खुलाउन सफल भएका छौँ । पहिरो क्षेत्रमा ठूला सवारीहरू एकपटकमा एउटा मात्र सञ्चालन गरेर सहयोग गरिदिन सरोकार भएका सबैलाई अनुरोध गर्दछौँ ।”

राजमार्ग सञ्चालनमा ल्याइएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आउने यात्रु तथा सवारीलाई सहज भएको प्रमुख भट्टराईले बताए ।

मेची राजमार्ग अवरुद्ध हुँदा यसअघि साना सवारीसाधनका निम्ति वैकल्पिक मार्गका रूपमा बुधबारदेखि तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालन गरिएको थियो ।

उक्त सडकखण्डअन्तर्गत माईजोगमाई गाउँपालिका–४, नामसालिङ र इलाम नगरपालिका–१०, गोदक जोड्ने जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण गरेर बाटो खुलाइएको उनले जानकारी दिए ।

वैकल्पिक सडकका रूपमा प्रयोग गरिँदै आएको मेची करिडोर (केचना–कञ्चनजंघा सडक) भने सञ्चालनमा ल्याउन बाँकी नै छ । उक्त सडकअन्तर्गत पुवाखोलाको बेलीब्रिज बाढीले बगाउनाका साथै बेलासेस्थित माईखोलाको पक्की पुल भाँचिएपछि हालसम्म अवरुद्ध छ ।  

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update