
काठमाडौं- नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयबाट उनकै छोरी गंगा दाहालले राजीनामा दिएकी छन्।
प्रचण्डको सचिवालयबाट राजीनामा दिएको विषय दाहालले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। प्रचण्डको छोरी गंगाले प्रकाश दाहालको निधनपछि सचिवालय हेर्दै आएकी थिइन्।
तर पछिल्लो समय आफूलाई देखाएर माओवादी केन्द्र र त्यसका संयोजक प्रचण्डविरूद्ध योजनाबद्ध प्रहार भएका कारण राजीनामा दिएको गंगाले बताएकी छन्।
'मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु,' उनले भनेकी छन्। सचिवालयबाट राजीनामा दिए पनि आजीवन पार्टीमा क्रियाशील हुने उनले बताएकी छन्।