काठमाडौं - जिल्ला प्रशासन इलामले बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द गर्ने निर्णय गरेको छ । चक्रवात मोन्थालाई कारण देखाउँदै प्रशासनले राजमार्ग बन्द गर्ने सूचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बुधबार विज्ञप्ति जारी गर्दै बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था' का कारण कार्तिक १३ गते बिहीबार साँझ ७ बजेबाट बिहान ६ बजेसम्म राजमार्ग बन्द गरिने जानकारी दिए ।
जल तथा मौसम विभागले कार्तिक १३ देखि १५ गते शनिबार बिहानसम्म कोसी प्रदेशको इलाम जिल्ला लगायत देशका धेरै भू-भागहरूमा मौसम प्रभावित हुने देखिएको अनुमान आएको भन्दै राजमार्ग बन्द गर्ने निर्णयमा पुगेको उनले बताए ।
‘असोज १८ गतेको वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्ग अन्तर्गतको धेरै वटा खण्डहरू जोखिमयुक्त रहेको हुँदा प्रतिकूल मौसमका कारण हुने अत्यधिक वर्षाका कारण राजमार्गमा सवारी आवागमनका क्रममा विपद्जन्य घटना घट्न सक्ने कुरालाई मध्यनजर गरी इलाम जिल्ला भित्र मेची राजमार्गमा मिति २०८२।०७।१३ गते बेलुका ७:०० बजे देखि बिहान ६:०० बजे सम्म अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको ब्यहोरा सरोकारवाला सबैमा जानकारी गराइन्छ‚’ विज्ञप्तिमा लेखिएको छ।






