कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै

मुस्ताङ- छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी-छुसाङ खण्डको तीव्रगतिमा कालोपत्र तथा स्तरोन्नति गरिरहेको छ । 

हिउँदयामको अत्यधिक चिसो, हिमपात र गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण रोकिएको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको हो ।

नौ दशमलव आठ किलोमिटर रहेको उक्त खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । आयोजना कार्यालयले मुस्ताङको थासाङ-४ घाँसाबाट कोरला नाका र मुक्तिनाथ जोड्ने गरी कागबेनीसम्मको करिब ९८ प्रतिशत सडक कालोपत्र सम्पन्न गरिसकेको छ ।

नेपाल-चीन उत्तरी कोरला नाकासम्मको सडकलाई आवश्यक स्तरोन्नतिसहित कालोपत्र गर्ने आयोजनाको लक्ष्य छ । सोही लक्ष्यलाई अघि बढाउनका लागि गत वर्ष सङ्घीय सरकारले बजेट विनियोजन गरेको थियो ।

मुस्ताङको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको कालोपत्रसहित सडक विस्तार गर्न आयोजनाले गत वर्षको २६ असारमा टक्सार इफ्फाटा/बुद्ध जेभी कन्ट्रक्सनसँग रु २८ करोड ८७ लाख ९६ हजार लागतमा ठेक्का सम्झौता गरेको आयोजना कार्यालयले जनाएको छ । उक्त सडकलाई कालोपत्रसहित थप स्तरोन्नति गर्ने गरी दुई वर्षको सम्पन्न गरिसक्नुपर्ने अवधि तोकिएको छ ।

ठेक्का सम्झौताअनुसार कागबेनी-छुसाङ सडक विसं २०८४ असार २४ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने समय तोकिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । गत असारको अन्तिममा ठेक्का सम्झौता भएको उक्त सडकको स्तरोन्नति कार्य चालु आवको साउनदेखि सुरु गरिए पनि प्रतिकूल मौसम र निर्वाचनका कारण पाँच महिना रोकिएको उनले बताए।

आयोजना प्रमुख शर्माले हिउँदयाम सकिएर गर्मीयाम सुरु भएसँगै निर्माण कम्पनी सडक निर्माणको कार्यस्थलमा फर्किएको बताए । उनका अनुसार निर्माणाधीन कागबेनी-छुसाङ खण्डको हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ । करिब ११ मिटर चौडा सडक रहने गरी आठ मिटर चौडा कालोपत्र सडक निर्माण गरिने उनले जानकारी दिए।

कोरला नाका जोड्ने कागबेनी–छुसाङ सडकखण्डको बारागुङ मुक्तिक्षेत्र-३ ताङ्वे क्षेत्रमा कालोपत्र सडक स्टक्चरको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सागर श्रेष्ठले जानकारी दिए। सडक स्तरोन्नतिका लागि उक्त खण्डमा पाँच हजार घनमिटर ग्याबिनवाल र दुई हजार घनमिटर रिटेर्निङ वाल लगाउने कार्य सकिएको उनले बताए। सडकको ग्रेड मिलाउने, आवश्यक स्थानमा ड्रेन निर्माण, ग्याबिनवाल र रेटेर्निङ वाललगायत काम भइरहेको छ ।

इन्धनको मूल्य घटेर आपूर्तिमा सहज भएमा पाँच महिनाभित्र कागबेनी-तोङ्वेसम्मको सडकमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका प्रतिनिधि श्रेष्ठले जानकारी दिए । उनका अनुसार कागबेनी-छुसाङ सडकको कामलाई तोकिएको समयमा सम्पन्न गर्न दैनिक ८० जनाभन्दा बढी जनशक्ति परिचालन भइसकेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  २०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update