Odapalika - The Fourth Estate - चौथो अंग
जेनजी आन्दोलनमा प्रहरी कार्यालय आगजनी गरेको आरोपमा पाँच पक्राउ

काठमाडौं - जेन-जी आन्दोलनका क्रममा राजधानीका प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौँको बलम्बु, थानकोट, कपन र काँडाघारी क्षेत्रबाट बिहीबार पाँच जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार प्रहरी प्रभाग बलम्बुमा भएको तोडफोड र आगजनी घटनामा कुमार तामाङलाई पक्राउ गरिएको छ। यस्तै, बुढानिलकण्ठ नगरपालिका-१० शिवमन्दिरबाट २२ वर्षीय प्रशान्त महतारालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा २८ वर्षीय प्रताप तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

यसैगरी, प्रहरी प्रभाग काँडाघारीमा आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा दुई जना किशोरलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा जिल्ला दोलखा कालिन्चोक गाउँपालिका-९ का १८ वर्षीय रञ्जित थामी र ओखलढुंगा टारकेराबारीका १५ वर्षीय विश्वास तामाङ रहेका छन्। उनीहरूलाई काँडाघारीस्थित लाहुरेचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update