काठमाडौं - नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्।
जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार शेर्पा आज (मंगलबार) पक्राउ परेका हुन्। शेर्पालाई फैसला कार्यान्वयनका सिलसिलामा पक्राउ गरिएको भट्टराईले बताए।
शेर्पामाथि बहुविवाह कसुरको मुद्दा थियो। शेर्पालाई जिल्ला अदालत काठमाडौंले २३ चैत २०७९ मा एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो। उच्च अदालत पाटनले ६ असोज २०८१ मा उक्त फैसला सदर गरेको थियो।
शेर्पामाथि उनकी जेठी श्रीमती करिश्मा खरेलले बहुविवाहको मुद्दा दायर गरेकी थिइन्। खरेलसँग शेर्पाले २९ असार २०६२ मा बिहे गरेका थिए। कान्छी श्रीमती पूजा परियारले बहुविवाह मुद्दामा सफाइ पाएकी थिइन्। उनीसँग २८ मंसिर २०६३ मा शेर्पाले बिहे गरेको अदालतको ठहर थियो।






