काठमाडौं - अर्थमन्त्री रामेश्वर खनालले घट्दो ब्याजदर र घरजग्गाको कारोबार तथा मूल्य कम रहेको प्रभाव आयकरमा देखिएको बताएका छन्।
राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबारको बैठकमा मन्त्री खनालले यस्तो बताएका हुन्।
मूल्य अभिवृद्धिकर, अन्तशुल्क तथा भन्सार महशुल १० प्रतिशत धेरैले बढेपनि आयकर वृद्धिदर ९ प्रतिशले घटेको छ। गत आर्थिक वर्षमा पनि आयकर वृद्धिदर न्युन रहेको थियो। “ब्याजमा लाग्ने कर घटेको छ, जग्गाको भाउ बढ्न सकेको छैन, जग्गाको कारोबार पनि बढ्न नसक्दा आयकर प्रभावित भयो,” खनालले भने।
अर्थमन्त्री खनालले जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा पनि बैंकबाट हुने कर्जा प्रवाह बढेको बताए। अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहेको जानकारी समितिमा गराउँदै समग्रमा राजश्व संकलन र मूल्यवृद्धि सन्तोषजनक रहेको उनले थपे ।





