काठमाडौं - निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप जनशक्ति र सिफ्टको व्यवस्था गरेको छ ।
आयोगले मंगलबार विज्ञप्ती जारी गर्दै दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लामा बिहान र दिउँसो गरी ६/६ घण्टाको दुई सिफ्टमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।
विशेषगरी काठमाडौं उपत्यकाका तीन जिल्ला अर्थात् काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको चापलाई सम्बोधन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट १४ जना थप कर्मचारी खटाइएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव नारायण प्रसाद भट्टराईले जारी गरिएको विज्ञप्तीमा लेखिएको छ ।
आयोगले ०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूले नाम मतदाता नामावलीमा दर्ता गराउन पनि अपिल गरेको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने तय भएको छ । यसका लागि कार्तिक ३० सम्म नयाँ मतदाता नामावली दर्ता र अध्यावधीको समय तोकिएको छ ।





