काठमाडौं- जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको भाटभटेनी सुपरमार्केटको वालुवाटारस्थित वेयरहाउस सञ्चालनमा आएको छ। रुद्राष्टाध्यायी पाठपारायणसहित पूजाआजा गरि आज बिहीबारदेखि वेयरहाउस सञ्चालनमा आएको हो।
जेनजीको आन्दोलन भड्किँदा गएको भदौ २४ गते काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८ सय ५४ रुपैयाँबराबरको क्षति भएको थियो।
भाटभटेनीका १२ वटा स्टोर पूर्ण क्षति भएका थिए पनि ९ वटा आंशिक क्षति भएका थिए। पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार ५ सय ९६ रुपैयाँ बराबरका सामग्री पूर्णरुपमा जलाइएको थियो। ४९ करोड ५७ लाख ७६ हजार ६ सय ५५ रुपैयाँबराबरका सामग्री तोडफोड र लुटपाट गरिएको थियो।
आगजनीबाट काठमाडौंको नक्सालमा रहेको भाटभटेनी मुख्यालय, महाराजगञ्ज, बौद्ध, कोटेश्वर र बालुवाटारको वेयरहाउस सबैभन्दा बढी क्षति भएको थियो।







