Odapalika - The Fourth Estate - चौथो अंग
अदानचुली गाउँपालिकामा सडक स्तरोन्नति गरिँदै

अदानचुली- अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएको छ । सडकको ट्र्याक खोलिएको करिब १० वर्षपछि उक्त सडकको स्तरोन्नतिका साथै कालोपत्र गर्ने कम सुरु गरिएको हो ।

गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको गल्फागाडदेखि गाउँपालिका केन्द्र श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएलगत्तै निरन्तर रूपमा काम भइरहेको छ ।

कर्णाली करिडोरको सडक निर्माण गरिएको स्थान(जिरो पोइन्ट) गल्फागाडबाट सुरु भएर श्रीनगरस्थित गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुने स्थान नजिकैको मोडसम्म करिब नौ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र गरिने भएको छ ।

अहिले गल्फागाडबाट सडक चौडा बनाउने, ग्याविन लगाउने, नाला खन्ने काम स्काभेटर र कामदारबाट धमाधम भइरहेको छ । विश्वबैंको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त सडकको लम्बाई नौ दशमलव नौ किलोमिटर रहेको छ ।

गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले काममा केही ढिलाइ हुने देखिएपछि दुई सिफ्टमा सडकको स्तरोन्नति गर्ने काम अगाडि बढाउने विषयमा निर्माण कम्पनीसँग कुरा भइरहेको उहाँले बताउनुभयो । उक्त सडकको स्तरोन्नति गर्ने काम पूरा भएपछि कालोपत्रको काम सुरु गरिनेछ ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update