Odapalika - The Fourth Estate - चौथो अंग
सडक कालोपत्रको माग गर्दै गोलन्जोर गाउँपालिकामा ‘जुनार महोत्सव’

सिन्धुली- जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतका जनप्रनिधिले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरे ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा जुनारको प्रचारप्रसार र पक्की सडक निर्माणको आवश्यकतालाई ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको हो । महोत्सवमा किसानहरुले जुनारबाट निर्मित जुस, स्क्वास, जाम, जेली, क्याण्डीलगायतका खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवका अवसरमा कृषक र विज्ञबीच बगैँचामा जुनार प्रवर्द्धनसम्बन्धी छलफल हुनेछ ।

उद्घाटन सत्रमा सहभागी जनप्रतिनिधिले किसानका समस्या समाधानमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । नेपालको पहिचानको रुपमा उत्पादन भइरहेको जुनारको बजारसम्म पहुँच विस्तार गर्न केन्द्रीय सरकारसँग उनीहरुको आग्रह छ । गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले जुनार–सुन्तलाले पहेँलपुर छ । किसानले जुनार र सुन्तलालाई मुख्य बालीकारुपमा लगाएपछि त्यस क्षेत्रका बगैँचा जुनार–सुन्तलाले ढाकेका हुन् ।

परम्परागत बाली धान, मकै, कोदो, गहुँ र आलुको तुलनामा १० गुणा बढीसम्म आम्दानी भएपछि जुनार खेती सबै किसानको रोजाइमा छ । किसानको उत्पादनको प्रचारप्रसार र विश्व बजारसम्म पहुँच विस्तार गर्न स्थानीय सरकारले पछिल्ला वर्ष ‘जुनार महोत्सव’ गर्दै आएका छन् ।

यसवर्ष जिल्लाको पहिचान र गोलञ्जोरको गौरवका रुपमा रहेको जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले बताए। उनले भने, “जुनारको प्रवर्द्धन, क्षेत्र विस्तार, बजारीकरण, गुणस्तर तथा देश विदेशमा प्रचारप्रसार पुर्‍याउने यस वर्षको महोत्सवको उद्देश्य हो ।” 

जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको गुनासो छ । गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ । सरकारी आँकडाअनुसार यहाँबाट गत आर्थिक वर्ष २०८१/८२ मा करिब रु ३४ करोडको जुनार बिक्री भएको छ । किसानले आफ्नै घर आँगनको बगैँचामा प्रतिकिलो रु ५० देखि ६० सम्ममा बिक्री गर्दै आएको जुनार बजरमा प्रतिकिलो रु ८० देखि १०० मा उपभोक्ताले खरिद गर्दै आएका छन् ।

गोलञ्जोर गाउँपालिकाको कृषि विकास शाखा कार्यालयका प्रमुख चन्द्रकान्त चौधरीका अनुसार सो पालिकाबाट अघिल्लो आर्थिक वर्षमा यस पालिकाबाट रु ३४ करोड १९ लाख ९० हजार बराबरको जुनार बिक्री भएको छ । जिल्लाबाट समग्रमा ३६ करोड ६४ लाख १० हजारको कारोबार भएको देखिन्छ ।

जिल्ला जुनार सहकारी सङ्घले भने सरकारी तथ्याङ्क भन्दा दोब्बर अर्थात करिब रु ७५ करोड मूल्य बराबरको वार्षिक कारोबार हुने जनाएको छ । सिन्धुलीमा जुनार खेती निकै पहिलेदेखि हुँदै आइरहेको छ । जिल्लाभरमा एक हजार १०० हेक्टरमा जुनार खेती छ । व्यावसायिक जुनार खेती ७५० हेक्टर क्षेत्रफलमा छ । हावापानीका हिसाबले गोलञ्जोरका सात वटै वडामा जुनार उत्पादन हुन्छ । गोलञ्जोरमा मात्रै पनि एक हजार हेक्टरमा जुनार छ । व्यावसायिक खेती भने करिब ७०० हेक्टरमा भइरहेको कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

सिन्धुलीका जुनार काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर, सिरहा, पाँचथर, नारायणगढ, विराटनगर, झापा मात्र नभई सीमा क्षेत्रका भारतीय बजारसम्म पुग्ने गरेको छ । ‘सुपरजोन’ कार्यालयमार्फत जुनार÷सुन्तला किसानले तालिम, नर्सरी सुधार, सिँचाइ, बगैँचा विस्तार, यान्त्रीकरणका लागि सहयोग पाइरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update