काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य समितिका संयोजक एवं वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले मानव पुँजी पलायन रोक्न वडास्तरबाट गर्न सकिने रोकथामका प्रयास गरिएको बताएका छन् ।
मानव पुँजी पलायन, विद्यमान अवस्थाको डर लाग्ने समस्या भएको बताउँदै उनले वडास्तरबाट गर्न सकिने रोकथामका प्रयास जारी राखिएको बताएका हुन् ।
२०८१ सालको एसईई परीक्षामा उत्तीर्ण छात्रछात्रा तथा विविध सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष महर्जनले यस्तो धारणा राखेका हुन् ।
‘अवसरको उचित वितरणसँगै युवाहरुमा आफ्नै ठाउँका सम्भावना देखाउनुपर्छ । हुन्छ र सकिन्छ भन्ने भाव बोध गराउनु पर्छ । यसका लागि नागरिकसँग सरकारको सम्बन्ध नजिक हुनुपर्छ । सरकारले नागरिकलाई केही गर्न प्रोत्साहित गरिरहनु पर्छ,’ उनले भने ।
सम्मान कार्यक्रमसँग मानव पूँजी पलायन रोकथामको सम्बन्ध देखाउँदै उनले स्वतःस्फूर्त विभिन्न क्षेत्रका सम्भावनाहरुमा काम गरिरहेका व्यक्तित्वहरुलाई प्रयासको निरन्तरतामा प्रोत्साहित गर्न, नवयुवाहरुलाई स्थानीयस्तरका सम्भावना खोजेर वृहत बनाउँदै समृद्धिको यात्रामा लाग्नका लागि सम्मानबाट प्रेरित गर्न खोजिएको बताए ।
दिगुख्य गुथिका अध्यक्ष एवं अनलिमिटेडका प्रमुख कार्यकारी एलेन वैलोचन तुलाधरले, हरेक व्यक्तिलाई जीवनभर केही न केही सिकिरहने अवसर भएको बताउँदै यसरी सिक्ने बानीले जहाँ पनि सहज जीवनयापन गर्न सक्ने क्षमता प्राप्त हुने धारणा राखे ।
कार्यक्रममा खेल, सामाजिक तथा अन्य विविध क्षेत्रबाट वडाको गौरव बढाउन योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने व्यक्तित्वहरुमा शारीरिक सुगठनका प्रतिस्पर्धा क्षेत्रबाट कृष्णसिंह शाही, मोर्डल पेन्टाथलन खेलाडी सोयवमान श्रेष्ठ, फिलिपिन्समा सम्पन्न अन्तरराष्ट्रिय रनवे मोडलको तेस्रो संस्करणका सेकेण्ड वेस्ट रनवे मोडल युनिभर्स रोनिस खड्गी छन्। उनीहरुलाई जनही १० हजार नगदसहित सम्मानित गरिएको हो ।
यस्तै भदौ २४ गतेको आन्दोलनका क्रममा नयाँ सडकमा रहेको नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय भवनमा आगो लाग्नबाट बचाएर स्थानीय बस्ती जोगाउने १५ जना स्थानीय युवालाई सम्मानित गरिएको थियो ।
एसईई उत्तीर्ण गर्ने ४० जनालाई सम्मानित गरिएको थियो । यसमा उत्कृष्ट अङ्क ल्याउने पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपियाँ नगदसहित सम्मान प्रदान गरियो ।







