रौतहट - पर्सा प्रहरीले २ सय ४० किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरबाट शनिबार राति एउटा ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए। उनका अनुसार मकवानपुरको थाहा नगरपालिका–१९ निवासी सरोज मोक्तान र सोही स्थानका नवराज लो लाई पक्राउ गरिएको छ ।
मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको माथितिर फल्स बटम बनाएर लकुाइएको १३६ प्याकेटमा रहेको २ सय ४० केजी चरेस भेटिएको प्रहरी उपरीक्षक पाठकले बताए ।
पाठकका अनुसार बरामद चरेसका बारेमा थप अनुसन्धान भइरहेको छ र घटनामा अन्य व्यक्तिको संलग्नताका बारेमा पनि अनुसन्धानलाई अघि बढाइएको छ ।
चरेस र ट्रकसहित नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । लागूऔषध सम्बन्धी कसुरअन्तर्गत पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।







