मलङ्गवा- नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिकरानीमाथि भारतीय नागरिकलाई नागरिकता दिएको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी रामविश्वास रायसमेत रहेको उक्त मुद्दामा वडाध्यक्ष मिक्रानीको संलग्नता देखिएपछि थप अनुसन्धान अघि बढाइएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै गत वैशाख २२ गते पत्राचार गरेपछि सर्लाही जिल्ला अदालत मलङ्गवाले मङ्सिर ५ गते वडाध्यक्ष मिक्रानीलाई पक्राउ गर्न अनुमति दिएको थियो । सोहीअनुसार खोजतलासका क्रममा आज मलङ्गवा–२ बाट उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
वडाध्यक्षलाई पक्राउपछि अदालतबाट दुई दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धान प्रक्रिया जारी रहेकाले नागरिकता लिएका भारतीय नागरिकको पहिचान प्रहरीले खुलाएको छैन ।







