नागरिकताको प्रतिलिपी र पासपोर्ट बनाउन अब आफ्नै जिल्ला जानु नपर्ने, वडाको सिफारिस पनि डिजिटल

 

काठमाडौँ । सरकारले नागरिकताको प्रतिलिपी, पासपोर्ट जस्ता कागजात बनाउनको लागि अझ सजिलो व्यवस्था गर्न लागेको छ ।

चैत १३ गते बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारको १०० कार्यसुचीमा नागरिकताको प्रतिलिपी लिन र पासपोर्ट बनाउन आफ्नै जिल्ला जानु नपर्ने व्यवस्था गरिने भनिएको छ ।

‘नागरिकलाई छिटो, सहज र बिचौलिया मुक्त सेवा उपलब्ध गराउन नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरुलाई डिजिटल तथा एकीकृत प्रणाली मार्फत संचालन गर्ने, नागरिकताको प्रतिलिपी तथा राहदानी सेवा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्न सकिने व्यवस्था तत्काल लागू गर्ने,’ सरकारले सार्वजनिक गरेको कार्यसुचीको बुँदा नं. २१ मा उल्लेख छ ।

अहिलेसम्म नागरिकता बनाउन वा त्यसको प्रतिलिपी लिनको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय नै जानु पर्ने वाध्यता थियो । सरकारले अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट पनि प्रतिलिपी लिन पाइने व्यवस्था गर्न लागेको हो । यो व्यवस्था तत्काल लागू गर्ने भनिएको छ, समयसीमा तोकिएको छैन ।

यस्तै, अब वडा कार्यालयहरुबाट हुने सिफारिस पनि डिजिटल हुने व्यवस्था गर्न लागिएको छ । वडा कार्यालयबाट डिजिटल सिफारिस प्राप्त हुने भएपछि सो सेवा लिनको लागि नागरिक वडा कार्यालयसम्म पनि जानु नपर्ने अवस्था आउन सक्छ । 

अहिलेसम्म वडा कार्यालयबाट हुने सिफारिसको भौतिक प्रति सम्बन्धित कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था छ । 

 

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update