काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको बन्दसूची पेस गरेका छन् । निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा बन्दसूची दर्ता भएको हो।
निर्वाचन आयोगले तोकेको कार्यक्रमअनुसार पुस १३ र १४ गते बन्दसूची पेस गर्ने कार्यतालिका थियो। उक्त अवधिमा बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये ५४ दलले आ–आफ्नै निर्वाचन चिह्नमार्फत सहभागिता जनाएका छन् भने १० वटा राजनीतिक दलले ४ वटा एकल चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिने गरी बन्दसूची बुझाएका छन्।
नेपालको संविधानको धारा ८४ को उपधारा (९क) अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने व्यवस्था छ। त्यस्तै, उपधारा (९ख) अनुसार सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना प्रतिनिधिसभा सदस्य निर्वाचित गरिने संवैधानिक व्यवस्था रहेको छ।





