भोजपुर । न्यून शुल्कमा अंग्रेजी माध्यमबाट शिक्षण गराउँदै आएको भोजपुर नगरपालिका–७ स्थित समता स्कुलप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।
महँगा निजी विद्यालयको शुल्क भार थेग्न नसक्ने अभिभावकका लागि यो विद्यालय व्यवहारिक विकल्पका रूपमा स्थापित हुँदै गएको हो ।
‘समता स्कुलले सुरुमा १ सय रुपैयाँमै शिक्षा प्रदान गर्दै आएको थियो । कोभिडपछि संस्थापक तहबाट आवश्यक बजेट व्यवस्थापन हुन नसक्ने अवस्था आएपछि सामान्य शुल्क लिएर विद्यालय सञ्चालन गर्नुपरेको हो,’ प्रधानाध्यापक पाण्डेले भनिन् ।
सबैका लागि शिक्षा भन्ने नारासहित विसं २०७५ मा ७५ विद्यार्थी र आठ शिक्षक–कर्मचारीबाट सञ्चालन गरिएको यस विद्यालयमा हाल ३४३ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको छ ।
आगामी नयाँ शैक्षिक सत्रदेखि कक्षा ९ सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन प्रधानका अनुसार समता स्कुलले सुलभ शुल्कमा गुणस्तरीय अंग्रेजी माध्यमको शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थीको चाप बढ्दै गएपछि प्रवेश परीक्षामार्फत भर्ना लिने व्यवस्था गरिएको उनले बताए । हाल विद्यालय १२ रोपनी जग्गा भाडामा लिएर सञ्चालन भइरहेको छ ।
‘समता स्कुलप्रति विद्यार्थीको आकर्षण निरन्तर बढिरहेको छ । विद्यार्थी सङ्ख्या बढेसँगै प्रवेश परीक्षा प्रणाली लागू गरेका हौँ, हामी नाफारहित नीतिअनुसार विद्यालय सञ्चालन गरिरहेका छौँ,’ अध्यक्ष प्रधानले भने ।
सरकारी विद्यालयको खस्कदो शैक्षिक गुणस्तर र निजी विद्यालयको महँगो शुल्कका कारण समता विद्यालयप्रति आकर्षण बढेको उनको भनाइ छ । विद्यालयले जेहेन्दार, गरिब तथा विपन्न, दलित र अल्पसङ्ख्यक समुदायका बालबालिकालाई लक्षित गरी छात्रवृत्तिको व्यवस्थासमेत गरेको छ ।






