ललितपुर । ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा) सम्पन्न भएको छ । महानगरको हिउँदे नगरसभा आइतबार सम्पन्न भएको हो ।
स्थानीय तहले आर्थिक वर्षमा दुई पटक नगरसभा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
नगरसभाको उद्घाटन सत्रमा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहिता लागू हुने भएकाले आचारसंहिता लागू हुनु अघि नै जनतासँग जोडिएका सम्पूर्ण काम पुरा गर्न अनुरोध गरे । जेनजी प्रदर्शन र प्रतिनिधिसभाको निर्वाचनका कारण महानगरको पूँजीगत खच अपेक्षा अनुसार हुन नसकेको उनले बताए ।
‘अघिल्ला वर्षहरुको अनुभवलाई हेर्ने हो भने पनि पछिल्लो छ महिनामा पूँजीगत खर्च बढी भएको देखिन्छ । पूँजी खर्च प्रगति मापनको मुख्य आधार भएकोले बाँकी छ महिनामा यो खर्च बढ्ने गरि काम गर्नुहोस्,’ उनले भने ।
आर्थिक वर्ष २०८२ /२०८३को हालसम्मको पूँजीगत खर्च २४ प्रतिशत रहेको छ । ललितपुर महानगरको छवि अन्य स्थानीय तहको भन्दा राम्रो रहेको बताउँदै जनप्रतिनिधि र कर्मचारीबीचकौ टिम वर्कको कारण उपलब्धि हासिल गरेको मेयर महर्जनको भनाइ छ ।
उपप्रमुख मंजली शाक्य बज्राचार्यले नागरिको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु जनप्रतिनिधिको दायित्व भएको बताउँदै आचारसंहिता लागू हुनु् अघि नै जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई अघि बढाउन अनुरोध गरिन् । उनले प्रतिनिधिसभाको निर्वाचनको आचारसंहिता लागू हुनुपूर्व नै नागरिकको मौलिक हकसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले धेरैवटा योजना सुरु भइसकेको बताउँदै भुक्तानी नभएकाले पूँजीगत खर्च कम देखिएको बताइन् । बाँकी छ महिनामा पूँजीगत खर्च वृद्धि हुने बताउँदै नागरिको दिनचर्यासँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर काम गरेको बताइन् ।






