काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फ खसआर्यमा रमेश प्रसाईंको नाम पहिलो नम्बरमा राखिएको छ । सह–महामन्त्री विपीन आचार्यले उमेदवारी फिर्ता लिएपछि प्रसाईंको नाम राखिएको हो ।
निर्वाचन आयोगले आइतबार (माघ ४) सार्वजनिक गरेको सूचीअनुसार आदिवासी जनजातितर्फ राम लामा, खसआर्यतर्फ प्रसाईं, दलिततर्फ प्रकाशचन्द्र दर्जी, दलितमहिलातर्फ रिमा विश्वकर्माको नाम छ ।
सुरुआतमा उज्यालो नेपालसँग एकता भए पनि बीचैमा एकता तोडिँदा रास्वपाका उमेदवार फेरिएका छन् । त्यसो त कतिपयले उमेदवारी फिर्ताको घोषणा गरेका थिए । रञ्जु न्यौपाने पनि उमेदवारको सूचीमा थिइन् । हाल सार्वजनिक सूचीमा उनको नाम छैन । पुस २८ गते उनले उमेदवारी फिर्ताको निवेदन दिएकी थिइन् ।







