रास्वपाको अभिमुखीकरणमा आज रवि र बालेन जाँदै, रविले गर्नेछन् सम्बोधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित सांसदका निम्ति मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा भइरहेको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई आज पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । 

मंगलबार रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरणको शुभारम्भ गरेका थिए । मंगलबार कार्यक्रममा सहभागी नभएका पार्टी सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज उपस्थित हुने सम्बोधन गर्ने बताइएको छ । 

लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता तथा समापन मन्तव्य व्यक्त गर्ने कार्यक्रम तालिका छ । बालेन पनि आज उपस्थित हुनेछन् । 

नवनिर्वाचित सांसदलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्न, प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्नेलगायत उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

अभिमुखीकरणमा नेपाल सरकारका पूर्वसचिव, आईटीविज्ञलगायत व्यक्तिहरूले विभिन्न विषयमा जानकारी प्रदान गर्नेछन् । रास्वपाबाट यसअघि पनि सांसद रहिसकेकाहरूले संसदीय अनुभव सुनाउने कार्यक्रम तालिका छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  ०६:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update