बालेनलाई संसदीय दलको नेता चुन्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। रास्वपाले चैत १२ गते बिहीबार अपाराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने छ।

बैठकमा संसदीय दल नेता चयन गर्नेबारे छलफल गर्ने कार्यसूची तय भयको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपाले चुनाव अगावै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेको थियो।

संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ बिहीबार नै तय गरेको छ। लगत्तै रास्वपाको केन्द्रीय समिति बसेर विधानको व्यवस्थाबारे छलफल गर्नेछ।

रास्वपाको मौजुदा विधानको धारा ६६ (८) को क र खमा संघीय संसदको दल नेता चयनसम्बन्धी व्यवस्था छ।

विधानमा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुने र निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने व्यवस्था छ।

यसलाई परिमार्जन गरेर वरिष्ठ नेतालाई दल नेता प्रस्ताव गर्ने कार्यसूची रहेको रास्वपाका नेताहरूले बताएका छन्।

हालै भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिक मत प्राप्त गरेको थियो। 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ०६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update