काठमाडौं । प्रमुखमा निर्वाचित प्रतिनिधि संसदीय चुनावको उमेदवार बनेसँगै ८ स्थानीय तहमा प्रमुख पद रिक्त बनेको छ । २ महानगरपालिका, १ उपमहानगरपालिका, ३ नगरपालिका र १ गाउँपालिकाको प्रमुख पद रिक्त बनेको हो । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन्द्र शाह संसदीय चुनावका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनावी क्षेत्र झापा-५ बाट मनोनयन दर्ता गरेका छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रधानमन्त्रीको उमेदवारका रूपमा अघि सार्दै एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्न पठाएको हो । २०७९ सालको निर्वाचनमा ओली ५२ हजार ३१९ मतका साथ निर्वाचित भएका थिए ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल चितवन ३ बाट चुनावी मैदानमा उत्रिएकी छन् ।
२०७९ को निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार विक्रम पाण्डे ३५ हजार ६० मतका साथ निर्वाचित भएका थिए । धरान उपमहानगरपालिका मेयर श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उमेदवार मनोनयन दर्ता गराएका छन् ।
यसअघिको प्रतिनिधिसभा निर्वाचनमा त्यस क्षेत्रमा जनता समाजवादी नेपालबाट १७ हजार ५९ मतका साथ अशोक राई निर्वाचित भएका थिए ।
मोरङको रंगेली नगरपालिकामा पनि मेयर रिक्त भएको हो । मेयरमा निर्वाचित दीलिपकुमार अग्रवाललाई एमालेले मोरङ २ बाट प्रतिनिधिसभा उमेदवार बनाएको हो । उक्त निर्वाचन क्षेत्रबाट यसअघिको प्रतिनिधिसभा चुनावमा एमालेकै ऋषिकेश पोखरेल निर्वाचित भएका थिए । उनले ३३ हजार १४८ मत प्राप्त गरेका थिए ।
यस्तै इलामको सूर्यदय नगरपालिकाका मेयर रणबहादुर राई नेकपाबाट इलाम २ मा उमेदवार बनेका छन् ।
इलाम २ मा २०७९ को निर्वाचनमा सुवास नेम्वाङ ३० हजार २० मत सहित निर्वाचित भएका थिए । उनको निधनपछि भएको उपनिर्वाचनमा त्यहाँ उनको छोरा सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत सहित निर्वाचित भएका थिए।
धुलिखेल नगरपालिकामा मेयर निर्वाचित भएका अशोक ब्यान्जु काभ्रे २ बाट उमेदवार बनेका छन् । उक्त निर्वाचन क्षेत्रमा ४५ हजार ३ सय ४५ मतका साथ एमालेकै गोकुल बाँस्कोटा निर्वाचित भएका थिए । हालै सम्पन्न महाधिवशेनमा एमाले सचिवमा ईश्वर पोखरेल प्यानलबाट उमेदवार दिएका बाँस्कोटाको टिकट खोसिएको हो ।
कैलाली टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु पनि चुनावी प्रतिस्पर्धामा छन् । उनी कैलाली १ बाट चुनावी मैदानमा उत्रिएका हुन् । उक्त क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीबाट ३० हजार ४०४ मत सहित रन्जिता श्रेष्ठ निर्वाचित भएकी थिइन् ।
एमालेले स्याङजा २ बाट कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई उमेदवार बनाएको छ । उक्त निर्वाचन क्षेत्रबाट ३१ हजार ४ सय ६६ मतसहित कांग्रेसका धनराज गुरूङ निर्वाचित भएका थिए ।
एमाले सचिवमा निर्वाचित पद्मा अर्याल उक्त निर्वाचन क्षेत्रमा २५ हजार ८ सय ३९ मत सहित दोस्रो भएकी थिइन् ।
ओखलढुंगामा एमालेले लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई उमेदवार बनाएको छ ।
ओखलढुंगामा ३३ हजार ५ सय ६६ मतसहित कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका थिए । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले पनि राजीनामा दिएका छन् । उनले बाँके २ बाट प्रतिस्पर्धा गर्नेछन् । २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट २९ हजार ५ सय ७७ मतसहित राप्रपाका धवल शम्सेर निर्वाचित भएका थिए ।
प्रतिनिधिसभा निर्वाचनमा लड्न १३ प्रदेश सांसदको राजीनामा
प्रतिनिधिसभा निर्वाचनमा लड्ने उद्देश्यले १३ प्रदेश सांसदले राजीनामा दिएका छन् । वाग्मती प्रदेशमा पाँच, मधेस प्रदेशका चार, लुम्बिनीका तीन र सुदूरपश्चिमा १ प्रदेश सांसदले राजीनामा दिएका हुन् । बागमती प्रदेशबाट एमाले र नेकपाका दुई/दुई जनाले राजीनामा दिएका हुन् भने राप्रपाबाट एक सांसद्ले राजीनामा दिएका हुन् ।
वाग्मती प्रदेशसभाबाट राजीनामा दिएका मध्ये राप्रपाका सुनील केसी रास्वपाबाट काठमाडौं २ का उमेदवार बनेका छन् ।
यस्तै, बसन्त मानन्धर काठमाडौं ७ बाट नेकपाको उमेदवार बनेका छन् । सिन्धुपाल्चोक २ बाट युवराज दुलाल उमेदवार बनेका छन् ।
यस्तै, प्रकाश श्रेष्ठ काठमाडौं ७ एमालेबाट उमेदवार बनेका छन् । यस्तै काठमाडौं ६ बाट एमालेबा अमनकुमार मास्के एमालेबाट उमेदवार बनेका छन् । दोलखाबाट उमेदवार बन्न राजीनामा दिएका कांग्रेसका प्रदेश सांसद कुन्दनराज काफ्लेले भने टिकट पाएनन् ।
मधेस प्रदेशमा राजीनामा दिनेहरूमा पूर्वमुख्यमन्त्री सतीश सिंह छन् । उनले सप्तरी २ बाट उमेदवारी दिएका छन् । मधेसका निवर्तमान सभामुख रामचन्द्र मण्डल धनुषा १ बाट उमेदवार बनेका छन् ।
नेकपाबाट प्रदेशसभामा निर्वाचित सांसद रहबर अन्सारीले पनि राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा ४ लागि उमेदवार बनेका छन् । यस्तै, मधेस प्रदेशसभाबाट राजीनामा द एका भरत साहले पनि महोत्तरी ४ बाट उमेदवारी दर्ता गराएका छन् ।
लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएका कन्हैया बानियाँले रास्वपाबाट रूपन्देही ४ बाट उमेदवारी दिएका छन् । यस्तै धनबहादुर मास्कीलाई नेकपाले दाङ ३ मा उमेदवार बनाएको छ । धर्मबहादुर चौधरी भने उज्यालो नेपालबाट बर्दिया २ मा उमेदवार बनेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट तारा जोशीले राजीनामा दिए । उनलाई रास्वपाले डडेल्धुराबाट उठाएको छ ।







