Odapalika - The Fourth Estate - चौथो अंग
निर्वाचन प्रचारमा कति सवारी साधन प्रयोग गर्न पाइन्छ

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सवारी साधन प्रयोग गर्दा अचारसंहिता पालना गर्न आग्रह गरेको छ । आचारसंहिता पालन नगरे सम्बन्धित उमेदवारलाई कारबाही हुने आयोगले प्रष्ट पारेको छ । 

आयोगले राजनीतिक दल, उमेदवार, दलका भातृ संगठन वा व्यक्तिले सवारी साधन प्रयोग गर्ने मापदण्ड तय गरेको छ । 

निर्वाचन अधिकृतको अनुमति लिई उमेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उमेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुईवटा दुई पांग्रे वा तीन पांग्रे अथावा चार पांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन प्रयोग गर्न सकिने आयोगले बताएको छ । त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिनेछ । तर विदेशी नम्बर प्लेटको सवारीसाधन प्रयोग गर्न पाइने छैन ।

अनुमति प्राप्त गरेको सवारीसाधनको स्वरूप परिवर्तन गरी प्रयोग गर्न वा गराउन नहुने आयोगले जनाएको छ ।

एउटा दल वा उमेदवारको नाममा अनुमति लिएको सवारीसाधन अन्य दल वा उमेदवारलाई प्रयोग गर्न दिन वा अन्य उमेदवारले प्रयोग गर्न नहुने आयोगले प्रष्ट पारेको छ ।

कुनै दल वा उमेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार गर्न पाइने छैन । तर, हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपले अशक्त वा अपांगता भएका व्यक्ति, हिंडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकजस्ता मतदाताको लागि निर्वाचन अधिकृतले अनुमति दिएको सवारीसाधन प्रयोग गर्न सकिनेछ । 

सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारीसाधन अन्य स्थानमा प्रयोग गर्न नपाइने आयोगले बताएको छ । 

अनुमति नलिएको सवारीसाधन प्रयोग गरी प्रचारप्रसार गरेमा वा त्यस्तो सवारीसाधनमा निर्वाचन प्रचारप्रसार सामग्री प्रदर्शन गरेमा सम्बन्धित स्थानको ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिनसक्नेछ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुँदै छ । 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update