Odapalika - The Fourth Estate - चौथो अंग
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने

भक्तपुर । भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा रहेका १८ वर्षभन्दा माथिका ७५ बालबिज्याइँकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागार खम्पा क्याम्पमा स्थानान्तरण गरिएको छ ।
    
बालगृहमा क्षमताभन्दा बढी १६९ बालबिज्याइँकर्ता रहँदै आएकामा गत माघ ८ गते राति भएको झडप, आगजनी र तोडफोडका कारण यहाँको अधिकांश संरचनामा क्षति पुगेको थियो भने बालबिज्याइँकर्तालाई जिल्लाका अन्य प्रहरी हिरासतमा स्थानान्तरण गरिएका थिए ।

पुनः सुधारगृहमा राख्न सक्ने अवस्था नरहेपछि नुवाकोट स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बाल सुधारगृहमा रहँदै आएका १८ वर्षमाथिका ७५ बालबिज्याइँकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागार खम्पा क्याम्पमा स्थानान्तरण गरिएको उनले बताए ।

सुधारगृृहमा २४ जना बालिकासमेत रहेका थिए । अठार वर्ष उमेर नाघेपछि बालबिज्याइँकर्तालाई कारागार चलान गर्ने कानुनी व्यवस्था नहुँदा ३५ वर्षसम्मका युवाहरूलाई समेत सुधारगृहमा राखिँदै आएको थियो । एउटै सुधारगृहमा ३५ वर्ष उमेरसम्मका बालबिज्याइँकर्ता र बालिकासमेत रहँदा सुुरक्षामा चुनौती थपिएको, पटक पटक झडप हुँदा समस्या पर्दै आएको थियो ।

प्रमुख जिल्ला अधिकारी ढकालले बाल सुधारगृहको मर्मत गरी बालिकाहरूलाई मात्रै राख्ने गरी व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ०६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update