Odapalika - The Fourth Estate - चौथो अंग
गोरखाको निर्वाचन तयारीबारे अनुगमन

गोरखा । गोरखाको निर्वाचन तयारीको पछिल्लो अवस्थाबारे अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले अनुगमन भ्रमण गरेका छन् । मंगलबार दिउँसो छुट्टाछुट्टै गोरखा आइपुगेका खनाल र जिसीले जिल्लाको निर्वाचनको तयारी, सुरक्षा प्रबन्धका बारेमा अध्ययन, अनुगमन, भ्रमण तथा छलफल गरेका हुन् । 

अर्थमन्त्री खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा पुगी वस्तुगत अध्ययन तथा छलफल गरेका हुन् । सो क्रममा ती दुवै कार्यालयले निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसारका सबै चरणहरू पूरा भइसकेको जानकारी गराएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए । 

“उहाँले निर्वाचन सभ्य, भव्य, निष्पक्ष, भयरहित ढंगले सबैको सरसहयोगको खाँचो रहेकाले सर्वपक्षीय, सर्वदलीय बैठक, छलफल, समन्वय र सहकार्यलाई जारी राख्न निर्देशन दिनुभयो,” कोइरालाले भने ।

त्यस्तै, नायब महानिरीक्षक जिसीले जिल्ला प्रहरी कार्यालय गोरखा, इलाका प्रहरी कार्यालय आरुघाट र इप्रका ठाँटीपोखरीको अनुगमन गरेका छन् । सो अवसरमा उनले निर्वाचन सुरक्षा चुनौती तथा सुरक्षाकर्मी परिचालन प्रबन्धको अवस्थाबारे सोधपुछ गरेका थिए ।

साथै, जटिल भौगोलिक अवस्थितिमा अपनाउन सकिने सुरक्षा वस्तुस्थितिबारे पनि सोधपुछ गरेका थिए । 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ०६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update