Odapalika - The Fourth Estate - चौथो अंग
मुस्ताङमा चिन्ता: चुनावमा हिउँ पर्‍यो भनेे मतदान केन्द्र कसरी जाने?

मुस्ताङ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ।

जिल्लाका पाँच स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदानस्थल सुरक्षा दृष्टिकोणले सामान्य छ।

मुस्ताङमा निर्वाचनका लागि यहाँ सबै मतदान केन्द्र तथा मतदानस्थलमा सुरक्षा चुनौती सामान्य रहे पनि हिमपातले मतदान कार्यक्रमलाई असर पु¥याउन सक्ने आकलन गरिएको छ।

हिमपात भएको अवस्थामा मतदाता गन्तव्यमा पुगेर मतदान गर्न असहज हुने भएकाले त्यसको पूर्वतयारी पनि थालिएको छ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ–डोल्पा सडकमा बाक्लो हिउँ जमेका कारण एक महिना अघिदेखि सडकमा यातायात सेवा अवरुद्ध छ।

मुस्ताङमा फागुन/चैत महिनामा हिमपात भएको विगतका अनुभवहरु छन्। हिमपात भएमा मतदाता र मतदानमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई समस्या सृजना हुनसक्ने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताए।

निर्वाचन कार्यतालिका अनुसार मतदान गर्ने दिनको केही दिन अगाडि साङ्ता मतदान केन्द्रमा जाने सडकको हिउँ डोजर परिचालन गरी पन्छ्याएर सडक सहज बनाउने योजनामा रहेको प्रजिअ शर्माको भनाइ छ।

यसपालि जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा लोमान्थाङ गाउँपालिका-२ समजुङ मतदानस्थललाई सोही वडाको छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा गाभिएको छ।

यसैगरी लोघेकर दामोदरकुण्ड–ताङ्ग्याका मतदाताहरु सहजताका लागि थप अर्को एक मतदानस्थल थपिएको छ।

हाल थासाङ गाउँपालिकामा–८ वटा, घरपझोङ गाउँपालिकामा–६ वटा, लोघेकर दामोदरकुण्डमा–१० वटा, वारागुङ मुक्तिक्षेत्रमा–९ वटा र लोमान्थाङ गाउँपालिकामा छ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम गरिएको छ।

मुस्ताङका प्रजिअ शर्माका अनुसार मुस्ताङका सबै मतदान केन्द्रमा सडकको पहुँच, विद्युत्, टेलिफोन र इन्टरेनटको सुविधा छ।

मुस्ताङमा एक लाख १३ हजार २८ जना मतदाता छन्। जसमध्ये पुरुष पाँच हजार ५५९ जना, महिला पाँच हजार ७६८ र अन्य एक जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए।

मुस्ताङको घरपझोङमा दुई हजार ४९२, थासाङमा दुई हजार ९०८, लोघेकर दामोदरकुण्डमा एक हजार ५४२, बारागुङ मुक्तिक्षेत्रमा दुई हजार ३७६ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ जना मतदाता छन्।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट २६६ जना र सशस्त्र प्रहरी बल नेपालबाट ४६ जना निर्वाचन प्रहरी छनौट गरी निर्वाचन प्रहरीका लागि अनुशिक्षण तालिम आइतबारदेखि सञ्चालन भइसकेको छ। 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ०६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update