काठमाडौँ । पर्सा जिल्लाको ठोरी गाउँपालिकाले अनुदान मूल्यमा वडा कार्यालयहरुबाट वितरण गरिने रासायनिक मलको मूल्य तय गरेको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार जिसीले दिएको जानकारी अनुसार युरिया मलको मूल्य प्रतिबोरा (५० केजी) को मूल्य ९५० रुपैयाँ तोकिएको छ । यस्तै, डिएपीको प्रतिबोरा २४५० रुपैयाँ र पोटासको मूल्य प्रतिबोरा १६ सय रुपैयाँ तोकिएको छ ।
यो मल गाउँपालिकाभित्रका सहकारी संस्थाहरुले किसानलाई विक्री गर्ने हो । यो मूल्य पनि किसानले खरिद गर्न पाउने खुद्रा मूल्य हो । गाउँपालिकाले फागुन ४ गते मलको मूल्य निर्धारण गरेको थियो ।
गाउँपालिकाले दिएको जानकारी अनुसार मल विक्रीबाट सहकारी संस्थाहरुले प्रतिबोरा २ सयदेखि २५० रुपैयाँसम्म नाफा खान पाउने छन् । किनभने गाउँपालिकाले सहकारी संस्थाहरुलाई युरिया मल प्रतिबोरा ७५० रुपैयाँ, डिएपी मल प्रतिबोरा २२ सय रुपैयाँ र पोटास प्रतिबोरा १६ सय रुपैयाँमा विक्री गर्ने निर्णय गरेको छ । तोकिएको भन्दा बढी मूल्यमा मल विक्री गरेको पाइए कारवाही हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत जिसीले जानकारी दिए ।







