काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो पालिकाभित्रका बासिन्दालाई निःशुल्क रुपमा मनोसामाजिक परामर्श सेवा दिने भएको छ ।
गाउँपालिकाले स्वास्थ्य तथा नजसंख्या उपशाखा अन्तरगत मनोसामाजिक परामर्श सेवा संचालनमा ल्याएको छ । यही उपशाखाले परामर्श सेवा दिन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिए । गाउँपालिकाले सन्देश बुढालाई मनोसामाजिक परामर्शकर्ता नियुक्त गरी सेवा प्रवाह गर्न लागेको हो ।
‘मानसिक स्वास्थ्य व्यक्तिको समग्र स्वास्थ्यको महत्वपूर्ण आधार हो । दैनिक जीवनमा भोग्नुपर्ने तनाव, पारिवारिक तथा सामाजिक दवाव, शोक, आघात वा अन्य परिस्थितिहरुले व्यक्तिको भावनात्मक र मनोवैज्ञानिक अवस्थामा असर पार्न सक्छ । समयमै उचित सहयोग र परामर्श प्राप्त गर्न सकेमा यस्ता समस्यालाई स्वास्थ्य तरिकाले सामना गर्न सकिन्छ र व्यक्तिको आम्मविश्वास, सम्बन्ध तथा कार्यक्षमतामा सुधार हुन्छ भनेर हामीले यस्तो सेवा सुरु गर्न लागेका हौं,’ प्रमुख प्रशासकीय अधिकृत ढकालले भने ।
गाउँपालिकाले लामो समयसम्म दुःखी वा निराश महसुस हुनु, अत्याधिक चिन्ता, डर वा तनाव हुनु, निन्द्रामा समस्या (निन्द्रा नलाग्नु वा धेरै सुत्नु), मुटुको धड्कन बढ्नु वा मुटु ढुकढुक हुनु, एक्लोपन मनपराउने, सामाजिक रुपमा टाढिने, ध्यान केन्द्रीत गर्न गाह्रो हुनु, आत्मविश्वास घट्नु, आफूलाई बेकार ठान्नु, जीवन निरर्थक जस्तो लाग्नु, आत्महत्या सम्बन्धी विचार आउनु र प्रयास गर्नु, बालबालिकाहरु स्कुल जान छोड्नु, फरक व्यवहार देखाउनु, जाँड रक्सी तथा लागू पदार्थको कुलतमा फस्नुलाई मनोसामाजिक समस्याको रुपमा पहिचान गरिएको छ । सबै सेवाग्राहीको पहिचान पूर्णरुपमा गोप्य राखिने गाउँपालिकाले जानकारी गराएको छ ।







