काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा ७६ जनाको मृत्यू तथा संसद भवन, सिंहदरवार, सर्वाेच्च अदालतलगायत सरकारी र निजी सम्पत्ति र संरचनामामा आगजनी, लुटपाट र तोडफोड पछि हुन लागेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जानकारी दिएको हो ।
आयोगका सचिव कृष्णबहादुर राउतले विषम परिस्थितिमा घोषणा भएको निर्वाचन अन्तिम चरणमा पुगेको बताए । उनले चुनावका लागि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन भइसकेको र सबै निर्वाचन क्षेत्रमा मतपत्रसहितका ती सामग्री पुगिसकेको जानकारी दिए । हिमाली क्षेत्रका कतिपय मतदान स्थलमा हेलिकप्टमार्फत निर्वाचन सामग्री पुर्याउने क्रम सुरु भइसकेको छ ।
आयोगले दिएको जानकारी अनुसार देशका १० हजार ९६७ मतदान स्थलका २३ हजार ११२ मतदान केन्द्रमा यही फागुन २१ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । हाल देशभर करिब दुई लाख १५ हजार कर्मचारी तथा निर्वाचन प्रहरीसहित तीन लाख ३९ हजार सुरक्षाकर्मी निर्वाचन व्यवस्थापनमा खटिएका छन् । निर्वाचन सामग्री व्यवस्थापनदेखि जनशक्ति परिचालनसम्मका कार्यमा संघ, प्रदेश र स्थानीय तहका सबै निकायको सक्रिय समन्वय रहेको आयोगको भनाइ छ । यस्तै, देशका ६ हजार ७४३ वडामै मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ ।
राष्ट्रिय समाचार समितिसँगको एक पोडकास्ट छलफलमा सचिव राउतले शान्तिसुरक्षा कायम गर्ने सन्दर्भमा सबै प्रदेशमा कमाण्ड पोस्ट स्थापना गरी प्रदेश सरकारका प्रमुख सचिव, सम्बन्धित मन्त्रालयका अधिकारी र सुरक्षा निकायका प्रमुखबीच आवश्यक समन्वयका साथ सुरक्षा तथा व्यवस्थापकीय कार्य अघि बढाइएको बताएका छन् ।
तीनै तहका सरकार, सुरक्षा निकाय, सञ्चार क्षेत्र, राजनीतिक दल, उम्मेदवार र आम मतदाताको उत्साहजनक सहयोग रहेको जनाउँदै उनले निर्वाचन स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न हुनेमा आयोग पूर्ण विश्वस्त रहेको बताए ।
निर्वाचन प्रयोजनका लागि फागुन ४ देखि १८ गतेसम्म प्रचारप्रसारको अवधि तोकिएको छ । राजनीतिक दल र उम्मेदवार चुनावी प्रचारप्रसारमा सघन रुपले जुटिरहेका छन् ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रत्येक वडामा स्थानीय भाषामा स्वयंसेवकमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ भने डिजिटल भोटर एजुकेसन कार्यक्रम पनि संचालन गरिएको छ । मतदाता शिक्षालाई अझ व्यवस्थित र प्रभावकारी बनाउन ७७ जिल्लामा मतदाता शिक्षाका लागि छुट्टै सम्पर्क तथा समन्वयकर्ता तोकिएको आयोगको भनाइ छ ।
आयोगले यसपटक ७७ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखहरूलाई आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ ।
सचिव राउतले मौन अवधिमा हुनसक्ने बाह्य टिप्पणी र प्रचारप्रसार नियन्त्रण गर्न आयोगले विशेष कानुनी व्यवस्था तथा संयन्त्र बनाएको जानकारी दिए । मौन अवधिमा निर्वाचन प्रतिकूलका गतिविधिको सुक्ष्म निगरानी, जानकारी संकलन र आवश्यक कारबाहीका लागि विशेष संयन्त्रको व्यवस्था गरिएको आयोगको भनाइ छ ।
यसपटकको निर्वाचनमा क्याम्पेन फाइनान्सिङ नियमनका लागि निर्वाचन आयोगले दल र उम्मेदवारलाई बेग्लै बैंक खाता सञ्चालन गर्न निर्देशन दिइसकेको छ । राजनीतिक दल र प्रत्यक्ष उमेदवारले प्रचारप्रसार खर्च बैंकमार्फत नै गर्नुपर्ने आयोगको भनाइ छ । निर्वाचनमा असर पुग्न सक्ने भन्दै अधिकांश जिल्ला प्रशासन कार्यालयहरुले भदौ १४ गतेदेखि नै मदिरा विक्री वितरणमा प्रतिबन्ध गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ अधिकतम ४५ वटा र न्यूनतम तीनवटा मात्र चुनाव चिह्न छन् । चुनाव चिह्नको सङ्ख्या र मतपत्रको आकारको कारणले गर्दा गणनाको गति केही फरक पर्न सक्ने आयोगको ठम्याइ छ । समानुपातिकतर्फको मतपत्रमा ५७ वटा चुनाव चिन्ह छन् ।







