काठमाडौं- विश्वबजारमा तेल र ग्यासको मूल्यमा अचानक वृद्धि देखिएको छ। केही वर्षअघि ऊर्जाको मूल्य बढ्दा समस्यामा परेका विश्वभरका परिवारका लागि यो वृद्धि फेरि चिन्ताको विषय बनेको छ। तर, विज्ञहरूका अनुसार यसको तत्कालिन प्रभाव भने तुलनात्मक रूपमा कमै रहने देखिएको छ।
आर्थिक मामिला विज्ञ धार्सिनी डेभिडका अनुसार तेल र ग्यासको मूल्य बढ्नुले अर्थतन्त्रमा कस्तो असर पार्छ भन्ने कुरा यो मूल्य कति माथि जान्छ र कति समयसम्म उच्च रहन्छ भन्नेमा भर पर्छ। अहिलेको मूल्य वृद्धिको स्तरलाई हेर्दा यसको प्रभाव निकै कम हुने अनुमान गरिएको बीबीसीको समाचारमा उल्लेख छ ।
अर्थशास्त्रीहरूको विश्लेषण अनुसार तेलको मूल्यमा हुने ५ प्रतिशतको निरन्तर वृद्धिले ठूला अर्थतन्त्र भएका देशहरूको मुद्रास्फीतिमा करिब शून्य दशमलव १ प्रतिशत थप गर्छ। अहिलेको कच्चा तेलको मूल्य वृद्धिलाई आधार मान्दा यसले मुद्रास्फीतिमा करिब शून्य दशमलव २ प्रतिशतको बढोत्तरी ल्याउन सक्ने देखिएको छ।
ग्यासको मूल्यको कुरा गर्दा यसको भविष्यको मूल्य (ग्यास फ्युचर्स) ४० प्रतिशतभन्दा बढीले बढेको छ। यदि यो वृद्धि यसरी नै स्थिर रह्यो भने आउँदो गर्मीयाम सम्ममा ऊर्जाको बिलमा ठूलो भार पर्न सक्छ। यद्यपि, यो मूल्य अझै पनि युक्रेन युद्धको समयमा देखिएको चरम विन्दुभन्दा धेरै तल छ।
अहिलेको अवस्थामा ऊर्जाको मूल्यमा अझै ठूलो उछाल नआएसम्म मुद्रास्फीतिमा यसको प्रभाव केही प्रतिकूल त हुनेछ तर विनाशकारी नै भने हुने छैन। यद्यपि यो सुरुआती चरण भएकाले आगामी दिनमा परिस्थिति धेरै फेरिन सक्ने सम्भावना पनि उत्तिकै छ।







