काठमाडौं : प्रतिनिधिसभा निर्वाचन अन्तरगत आज देशभर मतदान हुँदैछ। तर हरेक निर्वाचनमा बदर मतको प्रतिशत घट्न सकेको छैन।
हरेक निर्वाचनमा ५ प्रतिशत हाराहारीमा मत भएको देखिन्छ। आज हामी जिम्मेवार नागरिकले कसरी मतदान कसरी गर्ने भन्ने कुरा तपाईंहरुलाई जानकारी दिनेछौं।
केन्द्र र परिचयपत्र
आफ्नो नाम कुन मतदान केन्द्रमा छ भन्ने कुरा पहिले नै यकिन गर्नुहोस्। त्यसपछि निर्वाचन आयोगले जारी गरेको फोटोसहितको मतदाता परिचयपत्र अनिवार्य साथमा राख्नुहोला। परिचयपत्र नभएको खण्डमा आयोगले तोकेका अन्य वैकल्पिक सरकारी परिचयपत्रहरु नागरिकता, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमतिपत्र भए पनि हुन्छ।
निषेधित कुराहरू
मतदान केन्द्रमा जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर वा कुनै पनि प्रकारका हातहतियार नलैजानुहोस।
कुनै पनि दल वा उम्मेदवारको लोगो, झण्डा, वा चिन्ह अंकित लुगा, टोपी वा स्टिकर मतदान केन्द्रमा नजानुहोला
मादक पदार्थ सेवन गरेर पनि भोट हाल्न जानु हुँदैन।
मतदानको प्रक्रिया
मतदान केन्द्रमा पुगेपछि मर्यादित भएर लाइनमा बस्नुपर्छ।
यसपटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई वटा मतपत्र मार्फत् मतदान गर्नुपर्ने हुन्छ।
पहिलो मतपत्र
सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह भएको मतपत्र मतदान अधिकृतले दिनेछन्। यो भनेको प्रत्यक्षतर्फ उम्मेदवारलाई जाने मत हो।
कर्मचारीले दिएको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छ कि छैन चेक गर्नुहोस्। छैन भने त्यो मतपत्र प्रयोग नगर्नुहोस्।
गोप्य कोठाभित्र गएर त्यहाँ राखिएको स्वस्तिक छाप कसैले नदेख्नेगरी आफूले रोजेको उम्मेदवार वा दलको चिन्ह भएको कोठाभित्र मात्र लगाउनुहोस्।
छाप लगाउँदा चिन्हमा नपर्ने गरी र त्यो कोठाभन्दा बाहिर धर्कामा पनि नपर्ने गरी स्पष्ट छाप देखिने गरी एकै ठाउँमा एकपटक मात्र लगाउनु पर्नेछ।
अरू कुनै ठाउँमा फेरि छाप लगाउनु हुदैन। अनि हस्ताक्षर, औंठाछाप, टिकमार्क वा अन्य केही पनि लेख्नु हुँदैन। छाप लगाइसकेपछि मसी नलतपत्तियोस् भन्नका लागि सावधानीपूर्वक मतपत्र पट्याउनुहोस् र तोकिएको मतपेटिकामा मात्र खसाल्नुपर्नेछ।
दोस्रो मतपत्र
पुन मतदान अधिकृतले सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिन्ह भएको मतपत्र दिनेछन्। यो भनेको समानुपातिक तर्फ राजनीतिक दललाई दिने मत हो। त्यसमा पनि पहिलो मतपत्रमा जस्तै सावधानिपूर्वक एउटा निर्वाचन चिन्ह भएको कोठामा मात्रै छाप लगाएर तोकिएको मतपेटिकामा खसाल्नुहोस्।
तपाईंलाई मतपत्र पट्याउन वा प्रक्रियामा अन्यौल भएमा त्यहाँ खटिएका कर्मचारीसँग सहयोग माग्नुहोस्। यति गरेपछि मतदान प्रक्रिया सम्पन्न हुनेछ। मतदान गरिसकेपछि आफूले कसलाई मत दिएँ भनेर अरूलाई देखाउनु वा हल्ला गर्नु हुदैन।







