काठमाडौं - विशेष अदालतले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसँग २५ लाख रूपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त मल्ल र उमेश कोइरालाको इजलासले मंगलबार अधिकारीसँग २५ लाख धरौटी माग्ने आदेश गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही चैत १ गते अधिकारीसहित द कुटि रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं शेयरधनी देवेन्द्र केसी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० का रविन्द्र लामिछानेविरुद्ध विशेष अदालतमा आरोपपत्र दायरगरेको हो ।
अधिकारीले एच.के. इन्टरप्राइजेज प्रालि.को राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा राजस्व चुहावट सम्बन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरणवापत सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट ७० लाख घुस लिएको अख्तियारको आरोप छ ।
यसैगरी, अधिकारीले विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँगको मतसल्लाह तथा मिलेमतोमा उनीहरूको खाता रहेको ग्लोबल आईएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा रकम दाखिला गराएको आयोगले आरोपपत्रमा उल्लेख थियो ।






