रास्वपा उपसभापति डिपी अर्यालले गरे सभामुख पदमा मनोनय दर्ता

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।

रास्वपा सभापति रवि लामिछाने प्रस्तावक तथा अर्थमन्त्री अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् समर्थक राखेर उनले मनोनयन दर्ता गरेका हुन् ।

चैत २२ गते हुने सभामुख निर्वाचनका लागि संघीय संसद सचिवालयले आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकेको छ । लगत्तै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।

२२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन् । उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।

रास्वपाको बिहीबार बसेको बैठकले सभामुख पदमा अर्याललाई अघि सार्ने निर्णय गरेको थियो । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपा १८२ सिटसहित दुई तिहाइ बहुमत नजिक रहेकाले अर्याल सभामुख हुने निश्चित छ ।

सुरुमा अर्यालको नाम गृहमन्त्रीमा आएको थियो । तर, सुधन गुरुङलाई गृहमन्त्री बनाइएपछि अर्याल सभामुख बन्न लागेका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update