काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक संघले पनि आइतबार सार्वजनिक बिदाका दिन सेवा दिन नसकिने जनाएको छ। यसअघि नेपाल चिकित्सकले संघले पनि आइतबार सबै सेवा उपलब्ध गराउन नसकिने जनाएको थियो।
शनिबार संघका अध्यक्ष डा. शंकर गौतमले प्रेस विज्ञप्ति जारी गरी आइतबार काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनप्रति ध्यानाकर्षण भएको जनाएको छ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भए पछि स्वास्थ्य मन्त्रालयले आइतबार सबै सेवा सञ्चालन गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो।
चिकित्सकको कार्यबोझलाई ध्यान नदिएर मन्त्रालयले निर्देशन दिएको संघले जनाएको छ। ‘राष्ट्रिय श्रम ऐन र अन्तर्राष्ट्रिय मानव अधिकारले प्रत्याभूत गरेका श्रम अधिकारका विषयमा सरकारको उदासीनता र संवेदनहीनता अत्यन्तै खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ।
आयुर्वेद स्वास्थ्य संस्थामा उस्तै पनि जनशक्तिको अभाव रहेको संघले जनाएको छ। झन बिदा कटौती गर्दा चिकित्सकको कार्यक्षमतामा असर पर्ने संघको भनाइ छ।
‘थप बिदा कटौती गर्ने वा सट्टा बिदा समेत उपलब्ध गराउन नसकिने (सिमित जनशक्ति भएकाले एक मात्र चिकित्सक बिदा बस्दा समेत सेवा प्रभावित हुने हुँदा) परिस्थितिमा कार्यबोझ थपिँद्या कर्मचारीहरूको कार्यक्षमतामा ह्रास अउाने देखिन्छ,’ संघले भनेको छ, ‘अतः यस निर्णयले पार्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यसलाई पुनर्विचार गरिदिनुहुन नेपाल आयुर्वेद चिकित्सक संघ हार्दिक अनुरोध गर्दछ।’
यससँगै संघले आयुर्वेद स्वास्थ्य क्षेत्रमा सुधारका लागि थप काम गर्नुपर्ने औंल्याएको छ। संघले चार बुँदे माग पनि राखेको छ।






