कांग्रेस विवादः पार्टी एकताका लागि गगनले पहल नगरे दुई वटा महाधिवेशन

काठमाडौं - नेपाली कांग्रेसको वैधानिक विवाद निरुपण भएपनि राजनीति विवाद भने निकाशउन्मुख भएकै छैन । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले पार्टी सभापति गगन थापाले एकताको पहल नगरे दुई वटा महाधिवेशन हुने चेतावनी दिएको छ।

आइतबार बसेको खड्का पक्षको भेलाले महाधिवेशनका लागि तोकिएका दुई वटा मितिलाई समायोजन गर्न सभापति गगन थापाको ध्यानाकर्षण गराएको हो । आइतबारको भेलाले यथाशीघ्र निवर्तमान पदाधिकारीको बैठक राख्ने र वृहत् राष्ट्रिय भेला गर्ने समेत निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले जानकारी दिए ।

‘१५औं महाधिवेशनका लागि २ वटा मिति तय भएको छ, एउटा शेरबहादुर देउवा सभापति रहँदा नै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तोकेको वैशाख २८ देखि गर्ने भनेको छ । विशेष महाधिवेशनबाट आएको कार्यसमितिले असोजको मिति तोकेको छ, दुई वटा कार्यतालिकालाई समायोजन गरेर एउटा कार्यतालिका बनाउने स्थिति भयो भने त्यो पार्टी एकता भएको मानिन्छ,’ विश्वकर्माले भने, ‘पार्टी एकताका लागि पहल भएन भने दुई वटा महाधिवेशन हुन्छ, त्यसले पार्टीलाई विभाजनमा लैजान्छ । दुई वटा महाधिवेशनको अवस्था नरहोस् भन्नका लागि सम्बन्धित पक्षलाई पार्टी एकताको पहल गर्नका लागि आग्रह गरेका छौं ।’

भेलाले सर्वोच्चको निर्णय बाध्यकारी भए पनि गम्भीर असहमति प्रकट गर्ने निष्कर्ष निकालेको हो । सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकनमा जाने विषयमा समेत छलफल भएको नेता विश्वकर्माले जानकारी दिए । अदालतबाट भएको फैसला स्वीकारे पनि पुनरावलोकनमा जाने कि भन्ने सुझाव आएको उनले बताए ।

खड्का समूहले कानूनी विवाद निरुपण भए पनि राजनीतिक पहल गर्न ढिलाइ गरेमा कांग्रेसलाई क्षति हुने निष्कर्ष निकालेको उनले बताए ।भेलामा अधिकांश सदस्यहरूले सर्वोच्चको आदेश मानेर जानुपर्ने बताएका थिए । यसअघिका बैठकमा उपस्थित हुने गरेका डा. शेखर कोइराला भने यो बैठकमा उपस्थित भएका थिएनन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १९:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update