आयोजनाको आरसीओडी थपका लागि प्रवर्द्धकलाई सात दिनभित्र सम्पर्क गर्न आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु मिति (आरसीओडी) थपका लागि प्रवर्द्धकहरूलाई विभागमा सम्पर्क गर्न आह्वान गरेको छ । प्राधिकरणअन्तर्गत व्यवसाय विकास निर्देशनालय, विद्युत् व्यापार विभागले बुधबार (वैशाख ९) प्रकाशित सूचनामार्फत यस्तो जानकारी दिएको हो ।

प्राधिकरण सञ्चालक समितिको २०७१ भदौ ३१ गते बसेको ६८८औँ बैठकले निजी क्षेत्रका विद्युत प्रवर्द्धक कम्पनीहरूसँग सम्पन्न विद्युत् खरिद–बिक्री सम्झौता तथा ग्रीड कनेक्सन एग्रिमेन्टमा उल्लेखित प्राधिकरणको दायित्वभित्र पर्ने प्रसारण लाइन र सबस्टेसन निर्माण कार्य सम्पन्न नभएको अवस्थालाई ध्यानमा राख्दै आरसीओडी संशोधन गर्न स्वीकृति दिने निर्णय गरेको उल्लेख छ ।

उक्त निर्णयअनुसार आरसीओडीसम्म पनि निर्माण सम्पन्न नभएका आयोजनाहरूले तोकिएका सर्त पूरा गरेको अवस्थामा आफ्नो आयोजनाको आरसीओडी थप गर्न सक्नेछन् । यसका लागि सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित विभागमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले आरसीओडी थपका लागि केही सर्तहरू समेत तोकेको छ । जसअनुसार आयोजनाले विद्युत् उत्पादनको अनुमति पत्र प्राप्त गरेको हुनुपर्नेछ भने वित्तीय व्यवस्थापन सम्पन्न भएको हुनुपर्नेछ । त्यस्तै, आरसीओडी समाप्त हुनुअघि नै संशोधनका लागि निवेदन पेस गरिएको हुनुपर्नेछ ।

यसका साथै आयोजनाले भौतिक निर्माण कार्य प्रारम्भ गरी प्राधिकरणको प्रसारण लाइन तथा सबस्टेसन निर्माण प्रगतिसँग मिल्दो प्रगति हासिल गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  ०७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update