कोन्ज्योसोम गाउँपालिकाले भन्यो– कर्मचारीलाई विरामी विदा चाहिए २४ घण्टा अगाडि नै स्वीकृत गराउनू

 

कामठाडौँ । ललितपुर जिल्लाको कन्ज्योसोम गाउँपालिकाले कर्मचारीको लागि आचारण, समयपालना र सेवा प्रवाह सम्बन्धी ८ बुँदे निर्देशन जारी गरेको छ । सो निर्देशनमा विरामी विदा लिनको लागि पनि २४ घण्टा अगाडि नै स्वीकृत गराउनू भनिएको छ । यद्यपि, आकस्मिक विदा भने लिन पाइने छ ।

गाउँपालिकाबाट प्रवाह हुने सेवालाई चुस्त बनाउन र प्रशासनिक सुशासन कायम गराउन निर्देशन दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद दुलालले जानकारी दिए ।

‘गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त बनाउन र प्रशासनिक सुशासन कायम गर्न बमोजिमका बुँदाहरू पूर्ण रूपमा पालना गर्नुहुन निर्देशन जारी गरिएको छ,’ उनले भने ।

निर्देशनको पहिलो बुँदामा कार्यालय समयको पूर्ण परिपालना गर्न भनिएको छ । संघीय सरकारले हालै गरेको निर्णय अनुसार विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालय समय तोकिएको छ भने शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएको छ ।

यस्तै, दोस्रो बुँदामा चिया/खाना/खाजा ब्रेकको व्यवस्थित उपयोग (सेवाप्रवाहमा असर नपर्ने सुनिश्चित गरी) गर्न भनिएको छ । तेस्रो बुँदामा आकस्मिक बाहेकका सबै प्रकारका बिदा (घर बिदा, बिरामी बिदा आदि) कम्तिमा २४ घण्टा अगावै स्वीकृत गराउनुपर्ने भनिएको छ ।

गाउँपालिकाले कर्मचारीलाई सामाजिक सञ्जाल वा फोनबाट बिदा मागेर कार्यालय नआउने प्रवृत्तिलाई बन्द गर्न निर्देशन दिएको छ । । बिदा लिने समय शाखामा समन्वय गरी शाखागत सेवा प्रवाह नरोकिने सुनिश्चित गर्न पनि भनिएको छ । बिदामा बस्दा आफ्नो टेबुलको काम नरोकिने गरी आफ्ना व्याकअप कर्मचारीलाई फाइलहरू बुझाएर मात्र जान गाउँपालिकाको निर्देशन छ ।

निर्देशनको चौथो बुँदामा कार्यालयबाट काजमा बाहिर बसेको अवस्थामा कर्मचारी प्रशासन शाखालाई अनिवार्य जानकारी गराउनु पर्ने भनिएको छ । काजमा खटिएका कर्मचारीले फर्किएपछि २ कार्यदिन भित्र आफूले सम्पादन गरेको कामको काज प्रतिवेदन अनिवार्य पेश गर्न भनिएको छ ।

पाँचौँ बुँदामा सरकारको निर्देशन बमोजिम तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउन भनिएको छ । पोशाक र परिचयपत्र नलगाई आउने कर्मचारीलाई सो दिन अनुपस्थित सरह मानिने गाउँपालिकाको निर्णय छ ।

‘कुनै पनि फाइल वा निवेदनमाथि अनावश्यक ढिलाई नगर्नुहोला । कारणवश ढिला हुने भएमा सेवाग्राही र कार्यालयमा सोको स्पष्ट जानकारी दिनुहोला,’ निर्देशनको छैटौं बुँदामा उल्लेख छ ।

सातौँ बुँदामा सेवाग्राहीसँग कुनै पनि बहानामा अनुचित लाभ लिने वा आर्थिक लेनदेन गर्ने/गराउने नगर्न भनिएको छ । 

आँठौँ बुँदामा निर्देशन उल्लंघन गर्ने, लापरवाही गर्ने वा सेवाग्राहीलाई दुःख दिने कर्मचारी उक्त गतिविधिप्रति स्वयं जिम्मेवार हुनुपर्ने र निजलाई प्रचलित कानूनबमोजिमको कारबाही हुने पनि गाउँपालिकाको भनाइ छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  ११:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update