काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका निम्ति आज (वैशाख ११) निर्वाचन हुँदै छ । दलको नेता चयन प्रक्रिया सञ्चालनका लागि गठन गरिएको समितिले बिहीबार निर्वाचन तालिका हेरफेर गरेको छ ।
निर्वाचन तालिकाअनुसार, उमेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । ४:३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।
मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने तालिका तय गरिएको छ ।
प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसलाई दलको नेता टुंगो लगाउन सकस भएको छ । धेरैले आकांक्षा राखेपछि सर्वसम्मतको प्रयास भइरहेको सांसद बासना थापाले बताइन् ।
कांग्रेसको संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाको नाम चर्चामा छ ।






