काठमाडौँ । नविल बैंकले ग्राहक सूचनाको गोपनीयता सम्बन्धी भ्रामक जानकारीको खण्डन गरेको छ । केही दिनयता विभिन्न सामाजिक सञ्जाल तथा केहि सञ्चार माध्यममा नबिल बैंकले ग्राहकको गोपनीयता भंग गरी ग्राहकको कारोबारसम्बन्धी जानकारी चुहावट गरेको भन्ने चर्चा भएपछि बैंकले खण्डन गरेको हो ।
‘केही दिनयता विभिन्न सामाजिक सञ्जाल तथा केहि सञ्चार माध्यममा नबिल बैंकले ग्राहकको गोपनीयता भंग गरी ग्राहकको कारोबारसम्बन्धी जानकारी चुहावट गरेको भन्ने आधारहीन तथा प्रमाणविहीन प्रचार–प्रसार भइरहेकोप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता भ्रामक सूचनाले जनमानसमा बैंकिङ सेवाप्रतिको विश्वासलाई प्रभावित पार्ने प्रयास गरेको देखिएकाले बैंक यस किसिमको भ्रमपूर्ण तथा प्रमाणविहीन सम्प्रेषणको स्पष्ट रूपमा खण्डन गर्दछ,’ बैंकले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ।
बैंकले आफूसँग भएका कुनै पनि विवरण जथाभावी रुपमा कसैलाई पनि नदिएको विज्ञप्तिमा उल्ले्ख गरेको छ ।
‘बैंक सम्पूर्ण सरोकारवालाहरूलाई स्पष्ट रूपमा जानकारी गराउन चाहन्छ कि कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि, वा नियामकीय तथा अनुसन्धानकारी निकायहरूले कानूनी प्रक्रिया अनुसार मागेको अवस्था बाहेक बैंकले कुनै पनि सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई उपलब्ध गराउन मिल्दैन, गराउँदैन र गराएको पनि छैन,’ विज्ञप्तिमा भनिएको छ ।
बैंकको कुनै पनि ग्राहकको विवरण कसैले लिएको अवस्थामा बैंकको रेकर्डमा कुन मितिमा, कुन कर्मचारीले, कुन प्रयोजनका लागि निकालेको हो भन्ने सम्पूर्ण विवरण तथा लगत बैंकको प्रणाली अर्थात् कोर बैंकिङ सिस्टममा सुरक्षित रूपमा अभिलेखित रहने पनि जानकारी दिएको छ ।
बैंकले आफूमाथि लगाइएका सम्पूर्ण आरोप तथा अनुमानहरू गलत, भ्रामक तथा आधारहीन रहेको भन्दै बैंकले इजाजतपत्र प्राप्त क वर्गको वाणिज्य बैंकको हैसियतले नबिल बैंक लिमिटेडले प्रचलित कानून, नियमन, प्रावधान तथा निर्देशन एवं आन्तरिक सुशासन तथा सूचना सम्बन्धी नीतिहरूको पूर्ण रूपमा पालना गर्दै ग्राहक सूचनाको पूर्ण गोपनीयता कायम गर्न कटिबद्ध रहेको जानकारी गराउँने उल्लेख गरेको छ ।
‘बैंकिङ गोपनीयता कायम राख्नु तथा ग्राहकको सूचनाको संरक्षण गर्नु बैंकिङ नैतिकता तथा अनुपालनको आधारभूत सिद्धान्त हो। बैंकले यस सम्बन्धमा सधैं उच्चतम मापदण्ड तथा अभ्यासहरूको पालना गर्दै आइरहेको समेत जानकारी गराउन चाहन्छौं। नबिल बैंकजस्तो जिम्मेवार, चार दशकभन्दा बढीको विश्वसनीय इतिहास भएको बैंकले कुनै ग्राहकको व्यक्तिगत विवरण कुनै अनधिकृत व्यक्तिलाई हस्तान्तरण गर्ने वा जानकारी दिने सम्भावना छैन र रहँदैन,’ बैंकले भनेको छ ।
बैंकले सम्पूर्ण ग्राहकवर्ग तथा सरोकारवालाहरूमा यस्ता दुष्प्रचारमा विश्वास नगर्न अनुरोध पनि गरेको छ । साथै, बैंकले ग्राहक गोपनीयतामा सधैं सचेत रही, ग्राहक सुरक्षासम्बन्धी विभिन्न प्रविधिहरूको प्रयोगमार्फत उच्चतम सुरक्षित सेवा प्रदान गर्दै आएको र भविष्यमा पनि निरन्तर उच्च गुणस्तरीय, विश्वसनीय सेवा दिन सधैं कटिबद्ध रहेको पनि उल्लेख गरेको छ ।
केही दिनयता निवर्तमान गृहमन्त्री सुधन गुरुङको बैंकिङ कारोबारको डिटेल नविल बैंकबाट बाहिरियो भन्ने चर्चा चलेपछि बैंकले सोको खण्डन गरेको हो ।






