काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता सर्वसम्मतिले चयन गर्ने तयारी गरेको छ । कांग्रेसले सोमबार कार्यसम्पादन समितिको बैठकपछि संसदीय दलको बैठक बोलाएको छ ।
कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको छ । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताको नाम प्रस्ताव गर्ने तयारी गरेका एक नेताले जानकारी दिए । सोही नाम अनुमोदन भए निर्वाचन समितिले प्रमाणपत्र दिने उनले बताए ।
शुक्रबार (वैशाख ११) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट दलको नेता छान्न कार्यदल बनाइएको थियो ।
उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित कार्यदलमा अर्का उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य छन् । कार्यदललाई ७२ घण्टाको समयावधि दिइएको थियो । सो समितिले संसदीय दल नेता चयनका लागि सहमति जुटाउन छलफल गरिरहेको बताइएको छ ।
शुक्रबारको निर्वाचन कार्यतालिका स्थगन गरी सर्वसम्मतको गृहकार्यका निम्ति कार्यदल गठन गरिएको थियो ।
कांग्रेस संसदीय दलको नेताका निम्ति अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, बासना थापा र निश्कल राई आकांक्षी छन् ।
प्रतिनिधिसभामा सहभागी ६ दलमध्ये कांग्रेसले मात्र संसदीय दलको नेता टुंगो लगाउन सकेको छैन ।






