चितवन - चितवनका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकाले स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङका अनुसार इलाका प्रशासन कार्यालय माडी र भरतपुर महानगरपालिका वडा नम्बर १ देखि १५ सम्मका बासिन्दाका लागि महानगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ देखि २९ सम्म र अन्य पालिकाका बासिन्दाका लागि भने जिल्ला प्रशासन कार्यालयबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिने जनाइएको छ ।
त्यसैगरी प्रशासनमा बनेर आएका परिचयपत्रसमेत ती दुई ठाउँमा पठाइएको छ । इलाका प्रशासन कार्यालय माडीमा वितरणका लागि १० हजार कार्ड पठाइसकिएको छ । महानगरपालिका–१५ सम्मको ३६ हजार परिचयपत्र पठाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिकाबाट क्रमशः महानगरभित्रका सबै वडाको परिचयपत्र वितरण गरिने छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जल्न बाँकी रहेका परिचयपत्र वितरण गर्न लागिएको हो । प्रदर्शनपछि खिचिएका परिचयपत्रहरु अहिले नआएकाले पुराना परिचयपत्र वितरण गर्न लागिएको उनले बताए।






